नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथि कार्यकक्षमै भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस युनियन मकवानपुरका पूर्व अध्यक्ष, रिपोटर्स क्लब नेपाल मकवानपुरका पूर्व अध्यक्ष तथा निरन्तर प्रकाशित साप्ताहिक ‘क’ पत्रिकाका सम्पादक समेत रहेका न्यौपानेमाथि असार ३ गते दिउँसो ४:३० बजेको समयमा कार्यकक्षमै पुगेका कालो पोशाकमा मोटरसाइकलमा आएका समूहले मोबिल छ्याप्दै हातपात गरेको घटनाले प्रेस स्वतन्त्रता र जनप्रतिनिधिको सुरक्षाप्रति प्रश्न उठाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष सुवास विडारीद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबाट जारी कानुन र परिपत्रअनुसार सार्वजनिक जिम्मेवारी वहन गरिरहेका जनप्रतिनिधिमाथि भएको आक्रमण आपत्तिजनक रहेको जनाइएको छ। प्रेस युनियनले आक्रमणकारीलाई तत्काल कानुनी प्रक्रियामा ल्याउन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।
साथै, विज्ञप्तिमा प्रेस युनियनले कानुनले दिएको अधिकार प्रयोग गरी कर्तव्य निर्वाह गरिरहेका जनप्रतिनिधिमाथि भएको आक्रमणप्रति भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान र सजायको सुनिश्चितता गर्न जोड दिएको छ।






