सेवा प्रवाहको गुणस्तर सुधारमा केन्द्रित भएर काम गर्छौंः मन्त्री थापा
'सर्वसाधारणका सवारीसाधन पनि आगजनीमा परेकाले राहतस्वरूप विशेष व्यवस्था गरिएको छ'

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयलाई जनतामुखी र सेवा केन्द्रित बनाउने प्राथमिकता लिने बताएका छन् ।

सोमबार हेटौंडामा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले मन्त्रालयको सम्पूर्ण कार्य जनतासँग प्रत्यक्ष सम्बन्धित भएकाले सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो मन्त्रालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने र सेवाग्राहीसँग जोडिने मन्त्रालय भएकोले आम नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने कुरामा म, मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरु प्रतिबद्ध छौं ।’

मन्त्री थापाले भाद्र २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनबाट मन्त्रालय र मातहतका कार्यालयमा व्यापक क्षति पुगेको जानकारी समेत दिए । उनका अनुसार प्रदर्शनका क्रममा मन्त्रालय पूर्णरूपमा ध्वस्त भएको छ भने मातहतका १२ मध्ये चाबहिल र चितवनका कार्यालय पूर्ण क्षति र भक्तपुरस्थित राधेराधे तथा मकवानपुरस्थित हेटौंडा कार्यालय अर्ध क्षतिग्रस्त भएका छन् ।

आगजनीका कारण मन्त्रालयअन्तर्गतका करिब १ सय ९५ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । तीमध्ये ५३ चारपांग्रे र १ सय ४२ दुईपांग्रे रहेका मन्त्री थापाले जानकारी दिए ।

सर्वसाधारणका सवारीसाधन पनि आगजनीमा परेकाले राहतस्वरूप विशेष व्यवस्था गरिएको उनले बताए ।

‘पूर्णरूपमा जलेर नष्ट भएका सवारीसाधनको लगत कट्टा वा दर्ता खारेजी गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय गरेका छौं’, मन्त्री थापाले भने । ‘त्यस्तै, अर्ध जलेका वा मर्मतपछि सञ्चालनमा ल्याउन सकिने सवारीसाधनको हकमा मर्मत सम्पन्न नहुन्जेलसम्मको राजस्व मिनाहा गरिनेछ । साथै, भाद्र २३ र २४ गते राजस्व तिर्न नसक्ने अवस्थामा लाग्ने जरिवाना शुल्क पनि माफी गरिनेछ ।’

त्यसैगरी उनले सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छपाईबारे पनि स्पष्ट पारे । मन्त्री थापाका अनुसार लाइसेन्स छपाइ संघीय सरकारको अधिकारभित्र पर्ने भएपनि केन्द्रले अधिकार हस्तान्तरण गरे प्रदेशले छपाइ सुरु गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

‘हामीले केन्द्र सरकारसँग अनुमतिको लागि मुद्रण विभागमा निवेदन दिएका छौं’, उनले भने, ‘स्वीकृति प्राप्त भएको एक महिनाभित्रै प्रदेश सरकारले आफ्नै स्तरबाट लाइसेन्स छापेर वितरण गर्न सक्ने तयारी गरिसकेको छ ।’

उनका अनुसार अघिल्लो आर्थिक वर्षमै बागमती प्रदेश सरकारले लाइसेन्स तथा ब्लुबुक छपाइका लागि पाँचवटा मेशिन खरिद गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.