हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले सामाजिक सञ्जालमा आफूलाई बलात्कार गर्ने धम्की तथा यौनिक दुरुत्साहनायुक्त सन्देशहरू प्राप्त भएको खुलासा गरेकी छन् ।
जेन-जी आन्दोलनपछि सामाजिक सञ्जालमा व्यक्त गरिएको अभिव्यक्तिलाई आधार बनाइ आफूलाई योजनाबद्ध रूपमा निसाना बनाइएको उनले दाबी गरेकी हुन् ।
मेयर लामाका अनुसार उपमहानगरपालिकाको क्षेत्राधिकार र प्राथमिकतासम्बन्धी आफ्नो अभिव्यक्ति केही व्यक्तिहरूले जातीय-क्षेत्रीय उत्तेजनामा रूपान्तरण गरी आक्रमण गरिरहेका छन् ।
‘नगरले पहिलो प्राथमिकता आफ्ना नागरिकलाई दिन्छ भन्ने सामान्य भनाइलाई राजनीतिक, जातीय र भावनात्मक विवादमा पारेर मलाई मधेश विरोधीका रूपमा चित्रित गरियो,’ -मेयर लामाले उल्लेख गरेकी छन् ।
उनले सामाजिक सञ्जालका इनबक्समा बलात्कारको धम्की, रातिराति फोनमार्फत भेटेर ‘समस्या मिलाउने’ नाममा यौन प्रस्तावसम्म आएका संदेशहरू प्राप्त भएको बताएकी छन् ।
‘नगर प्रमुख रहेको ममाथि यस्तो हुन्छ भने साधारण महिलाहरूको सुरक्षा कति नाजुक छ भन्ने अनुमान गर्न सकिन्छ,’ -उनले भनिन् ।
लामाले केही व्यक्तिहरूले बालबालिका र किशोरकिशोरीहरूलाई प्रयोग गरेर आफूविरुद्ध हुल बाँध्ने प्रयास भएको आरोप पनि लगाएकी छन् ।
महिला मैत्री सहर घोषणाको तयारी जारी यसैबीच हेटौंडा उपमहानगरलाई महिला मैत्री सहर घोषणा गर्ने प्रक्रियाअन्तर्गत मेयर लामाले आईतबार संयुक्त राष्ट्रसंघीय परियोजना (UNOPS) सँग सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन् ।
सम्झौतामा हेटौंडा-८ का वडा अध्यक्ष राम थापा, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, ईन्जिनियर विनित ओझालगायतको सहभागिता रहेको थियो ।
लामाले महिला मैत्री सहर निर्माण सामाजिक मानसिकता परिवर्तनको चुनौतीपूर्ण चरण भएको बताइन् ।
उनले भनिन्- ‘सहरलाई महिला मैत्री भन्नु मात्र महत्त्वपूर्ण होइन, महिलालाई साँचिकै सुरक्षित र सम्मानित बनाउन वातावरण निर्माण गर्नु चुनौती हो,’
सुरक्षा प्रश्न उठ्दै
मेयर लामामाथि आएका धम्कीसम्बन्धमा सुरक्षा निकायले औपचारिक उपचार प्रक्रिया सुरू गरेको वा गरेको छैन भन्नेबारे प्रहरीबाट आधिकारिक प्रतिक्रिया आएको छैन । तर, स्थानीय स्तरमा भने यस घटनाले सार्वजनिक पदमा रहेका महिलाहरूको सुरक्षा र सामाजिक व्यवहारमा देखिएको यौनिक आक्रमकताबारे गम्भीर प्रश्न उब्जाएको छ।






