बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सदनबाट विश्वासको मत पाएका छन् ।
मंगलबार नव उद्घाटित भवनमा अपराह्न बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री बानियाँले विश्वासको मत पाएका हुन् ।
बानियाँलाई सत्तासाझेदार दलहरुबाट ६३ सांसदले विश्वासको मत दिएका छन् । जसमध्ये कांग्रेसका ३६ र एमालेका २७ सांसदले उनलाई विश्वासको मत दिए ।
प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् । तर, कांग्रेसका एक सांसद आजको बैठकमा अनुपस्थित हुँदा बानियाँले ६३ मत मात्रै पाएका हुन् ।
१ सय १० सांसद रहेको प्रदेशसभामा मंगलबार जम्मा ९२ सांसदको मात्रै उपस्थिति रहेको थियो । त्यसमध्ये बानियाँको विपक्षमा २२ मत खसेको थियो भने ७ सांसदहरु तटस्थ बसेको प्रदेशसभा सचिवालयले जानकारी गराए ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एस)का ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।







