लालकिल्लालाई तोडेर मकवानपुरलाई कांग्रेसमय बनाउँछुः लामिछाने

हेटौंडा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आसन्न मकवानपुरको जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार जयराम लामिछानेले प्यानल सहित आफ्नो मनोनयन दर्ता गराएका छन् ।

आइतबार हेटौडा-२, कांग्रेस चोकस्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालय पुगेर लामिछानेसहित सभापतिका अन्य २ उम्मेदवार आनन्दराम पराजुली र बुद्ध लामाले प्यानल सहित तोकिएको समयमा उम्मेदवारीको मनोनयन दर्ता गरेको र मतदान फागुन १६ गते सोमबार विहान ८ बजेबाट सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताए ।

सभापतिमा मनोनयन दर्ता गरे पश्चात् उम्मेदवार जयराम लामिछाने र उनको प्यानलले जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुसँग भेटघाट गर्दै भोटको लागि अपिल समेत गरेका छन् ।

उनको प्यानलमा उपसभापतिमा आनन्द कठायत र धर्मराज लामिछाने, सचिवमा भीमसेन महत र इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न गोले र जिल्ला सदस्यहरुमा गोपिराम बल, तारा राई कार्की, सुशीला न्यौपाने, शिव खनाल र पूणर् पुडासैनी, होमनाथ गौतम, माधव प्रसाद न्यौपाने, कपिल अर्याल, दिपक नगरकोटी, राजुमाया कार्की, नविन अर्याल, शान्तिमाया थिङ, अशोक घलान लामा, चन्द्र बहादुर न्यौपाने, नवराज लामा उम्मेदवार रहेका छन् ।

त्रिपक्षिय भिडन्त हुने निश्चित भएपछि संस्थापन इतर पक्षको उम्मेदवार रहेका लामिछानेको पक्षमा माहौल बलियो देखिएको मकवानपुर कांग्रेसका नेताहरुको बीचमा चर्चा भइरहेको छ । बैचारिक हिसाबले पनि अरु उम्मेदवार भन्दा अब्बल मानिएका लामिछाने मकवानपुरमा कांग्रेसलाई बैचारिक रुपमा बामपन्थीहरुलाई परास्त गर्दै विकास र प्रविधि जनतामाझ पुर्‍याउने योजनासहित चुनावमा होमिएका छन् ।

लामिछानेले कम्युनिष्टको लालकिल्लालाई तोडेर सिंगो मकवानपुरलाई कांग्रेसमय जिल्ला बनाउने घोषणा गरेका छन् । उनले राष्ट्र निर्माणमा पुर्‍याएका योगदान, उत्तरी मकवानपुरका विकट वस्तीमा आफ्नै खर्चमा विकास निर्माणहरु गरी जनताको मनमा बस्न सफल लामिछानेले बिजयी भएमा सिंगो जिल्लामा कांग्रेसको अवस्था सुदृढ हुने भन्दै कांग्रेसीजनहरु खुशी देखिएका छन् ।

कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति एवम् प्रमुख सल्लाहकार रामचन्द्र अर्याल ‘माइकल’, पूर्व सभापति रघुरमण न्यौपाने, महिला नेतृद्वय उमा दाहाल र रिता खनाललगायत कांग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको थियो ।