राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक सम्मेलन हेटौंडामा

हेटौंडा/ राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको हेटौंडामा दुई दिन प्रादेशिक सम्मेलन हुने भएको छ ।

शुक्रबार र शनिबार देशको ७ वटै प्रदेशमा मानव अधिकार रक्षकहरुको भेला हुने मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले बताए ।

बिहिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अधिकारीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबाट कार्यक्रमको उद्घाटन गरिने बताएका छन् ।

‘नेपालमा पहिलो पटक ७ वटा प्रदेशमा एकैचोटि यसरी प्रादेशिक सम्मेलन आयोजना हुन लागेको हो ।’ राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले भनिन् । दुइदिने सम्मेलनमा मानव अधिकार रक्षा, चुनौती, समस्याहरुलाई छलफल गरी घोषणापत्र तयार गरी सरकारलाई बुझाउने तयारी रहेको तथा सम्मेलनमा ३० भन्दा बढी मानव अधिकारका संघसंस्थाका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधिसहित १३० जनाको सहभागिता रहने सदस्य लिलि थापाले बताइन् ।