हेटौंडा/ मकवानपुरगढी गाउँपालिकाले ८ वटै वडालाई बालमैत्री वडा घोषणा गरेको छ ।
मकवानपुरगढीलाई आउँदो चैत्र १२ गते बालमैत्री स्थानीय शासन घोषणा गरिने तयारीमा रहेको गाउँपालिकाले शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरि ८ वटै वडालाई बालमैत्री घोषणा गरिएको हो ।
बालमैत्री गाउँपालिका घोषणाको लागि पुग्नुपर्ने सुचकहरु सतप्रतिशत पुगिसकेकाले वडा घोषणा गरिएको बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दाहालले बताए ।
गाउँपालिकाको ८ वटै वडाका वडा अध्यक्षहरुको सभाध्यक्षतामा उनीहरुको वडामा घोषणा कार्यक्रम आयोजना गरिएको थियो ।
वडा नम्बर १ का वडा अध्यक्ष आइतसिं लोको कार्यक्रममा अतिथिहरु गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दाहाल रहेका थिए भने वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीनकोमा प्रमुख अतिथि उपाध्यक्ष हर्कमाया रुम्बा थिइन् । त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी रहेका थिए । वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाकोमा भने महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा अतिथि रहिन र वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरेकोमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विदुर हुमागाईं स्वयम् थिए । वडा नम्बर ६ का वडा अध्यक्ष टिका प्रसाद दाहालकोमा स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, वडा नम्बर ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बाकोमा शिक्षा शाखा प्रमुख राम घलान र वडा नम्बर ८ का वडा अध्यक्ष कुमार घिसिङकोमा कर्मचारी प्रशासन शाखा प्रमुख सुर्य बहादुर गुरुङ अतिथि थिए । साथै सम्बन्धित वडाहरुका वडा सदस्य र कर्मचारीहरु कार्यपालिका सदस्य, राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, वन, सहकारी, टोलविकास, विद्यालयका विद्यार्थी,शिक्षक र अभिभावकको उपस्थितिमा सबैले सामुहिक प्रतिबद्धता र सामूहिक हस्ताक्षर गरि आ-आफ्नो वडालाई बाल विवाह मुक्त र बाल श्रम निकृष्ट वडा घोषणा गरिएको थियो ।
सबै वडामा विभिन्न बालमैत्री सम्बन्धी नारा लगाएर, खैजेडी, गीत प्रस्तुत, नृत्य प्रदर्शन गरि बालमैत्री वडा घोषणा गरिएको थियो ।
वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा भएकाले वडालाई बालमैत्री घोषणा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए । उनले शुक्रबार सबै वडा घोषणा भए सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले अनुगमन, मुल्यांकन हुने र १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि पालिका घोषणा गरिने बताए ।
गाउँपालिकाले प्रत्येक वडामा बालमैत्री सहजकर्ता राखी कामलाई तीव्रता दिएको थियो । २०७८ मंसिरमा घोषणा गर्न तयारी रहदाँ रहदैँ कोरोना कहरका कारण फागुन चैत्र सम्म पुगेको कार्यक्रम संयोजक दाहालले बताए । गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८मा रहि ५१ वटा सुचकमा रहेर काम गरेको थियो । ५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् ।
बालमैत्री घोषणा गर्ने नेपालको गाउँपालिका अन्तरगत चौथो, बागमती प्रदेशमा तेस्रो र मकवानपुर जिल्लामा पनि तेस्रो मकवानपुरगढी गाउँपालिका रहेको संयोजक दाहालले बताए ।