हेटौंडा/ बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधबार भएको खेलमा धादिङ र मकवानपुर विजयी भएका छन् ।
हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलको पहिलो खेल धादिङ र काभ्रेबीच भएको थियो । १–० गोलान्तरले धादिङ विजयी भएको हो । खेलको २४ औं मिनेटमा विपिन कंडेलले गरेको एक गोल नै निर्णायक गोल बन्न पुग्यो । विजयी सँगै धादिङ सेमीफाइनल प्रवेश गरेको छ ।
त्यस्तै, घरेलु मैदानमा सिन्धुलीलाई हराउदैं मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ । आजै भएको क्वाटरफाइनल खेलमा १८ मिनेटमा ललित चौलागाईले पहिलो गोल गरेका थिए । पहिला हाफमा ४७ मिनेटमा मकवानपुरका लागि सुनिल घलानले दोस्रो गोल थपेका थिए । मकवानपुरका लागि दोस्रो हाफको ७४ मिनेटमा समिरराज थोकरले एक गोल थप गर्दै ३–० गोलान्तरले मकवानपुर विजयी भएको हो ।
बिहीबार दुई खेल हुनेछन् । पहिलो क्वाटरफाइनल खेल ललितपुर र रामेछापबीच हुनेछ भने दोस्रो खेल दोलखा र भक्तपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताइन् । खेल नकआउट चरणमा खेलाइएको छ ।
पुरुष क्रिकेटतर्फ
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको क्रिकेट खेल बुधबारबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल रामेछाप र नुवाकोटबीच भएको थियो । टस जितेर ब्याटिङ रोजेको नुवाकोटले २ विकेट गुमाएर रामेछापलाई २५६ रनको लक्ष्य दिएको थियो । रामेछापले १५ ओभरमा सबै विकेट गराउदैं ६६ रनमै सिमित रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएका विभिन्न प्रतियोगिताहरु मध्ये हाल सम्मकै नुवाकोटका राजेश रिमालले एकैखेलमा हाइ स्कोर १५९ रन बनाएका थिए ।
त्यस्तै, दोस्रो खेलमा रसुवाले टस जितेर ब्याटिङ रोजेर १३ ओभरमा पुरै विकेट गुमाउदैं ५१ रन बनाएको थियो । धादिङले ५ ओभरमै एक विकेट गुमाएर लक्ष्य हासिल गर्दै अघिल्लो चरण प्रवेश गरेको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । बिहीबार दुई खेल हुनेछ । पहिलो खेल ललितपुर र दोलखा तथा दोस्रो खेल सिन्धुपाल्चोक र काभ्रेबीच हुने क्षेत्रीले बताए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।
भलिबल तर्फ
चितवनको माडी खेल मैदानमा भएको महिला भलिबल तर्फ चितवन र रामेछाप फाइनल प्रवेश गरेको छ । रामेछापले सिन्धुलीलाई २५–१०,१५–२५,२५–१४, २५–२०ले हराउँदै रामेछाप फाइनल प्रवेश गरेको छ । त्यस्तै, चितवनले दोलखालाई साझै सेटमा हराएको छ । चितवनले दोलखालाई २५–१२,२५–९,२५–८ले हराउदैं फाइनल यात्रा तय गरेको हो ।
पुरुष तर्फभने चितवन र सिन्धुली फाइनल प्रवेश गरेका छन् । सेमीफाइनलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई तथा चितवनले दोलखालाई हराउदैं फाइनल प्रवेश गरेको खेल संयोजक अशोककाजी थापाले बताए ।
मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।
प्रतियोगिताको लागि ८ करोड ४ लाख रकम खर्च हुने अनुमान गरिएको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम चैत्र १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।