१२ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै अदालतद्वारा दोषीलाई १८ वर्ष कैद

हेटौंडा/ मकवानपुर जिल्ला अदालतले बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई १८ वर्ष कैदको फैसला सुनाएको छ ।

शुक्रबार जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको एकल इजलासले हेटौंडा उपमहानगरपालिका-११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजाय सुनाएको हो । अभियुक्त लामाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । अदालतले पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश गरेको छ । लामाले २०७८ असार २ गते बालिकालाई हेटौंडा उपमहानगरपालिका-१० स्थित एक होटलमा लगेर बलात्कार गरेका थिए ।

चितवनबाट हेटौंडा घर आएकी बालिका राति बसपार्कमा ओर्लिएकी थिइन् । लामाले बालिकालाई घर पुर्‍याइदिने भनेर झुक्याएर होटलमा लगेर बलत्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अभियुक्त लामालाई क्षेत्रीय कारागार भीमफेदीमा राखिएको छ ।