विपद् व्यवस्थापन समितिद्वारा नमुना सुरक्षा पद्धति परिक्षण प्रदर्शन

हेटौंडा/ चैत बैशाखको समयमा बिशेषगरी हावाहुरी तथा आगलागी हुने संभावना बढी हुने गर्दछ । सुख्खा मौसमका बेला यस्ता विपदले कहिले र कतिबेला समस्यामा पार्छन त्यो भन्न सकिन्न ।

यस्तै विपदबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको नेतृत्वमा मंगलबार भुटनदेवी मन्दिर नजिकैको खुला चौरमा सुरक्षा निकायले नमुना सुरक्षा पद्धति परिक्षण प्रदर्शन गरेको छ ।

खासगरी आगलागी नियन्त्रण र व्यवस्थापनको विषयमा गोरख बहादुर गण सुपारेटार,सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुर, जिल्ला प्रहरी कार्यलय मकवानपुरका तालिमप्राप्त सुरक्षा सुरक्षाकर्मीहरुले ससाना घरहरुलाई डेमो बनाएर आगलागी कसरी नियन्त्रण गर्ने भनी नमुना प्रदर्शन गरिएको थियो ।

सुख्या समयमा डढेलो बढी हुने अवस्थामा जनचेतना फैलाउने हिसाबले हामीले कार्यक्रमको आयोजना गरिएको सशस्त्रका प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीले बताए । घर नजिकका सामूदायिक वनमा होस् या पशुचौपायाका लागि राखिएको पराल लगायत अन्य स्थानमा आगलागि भएमा आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित गराउन तालिम प्राप्त सुरक्षाकर्मीले डेमो प्रदर्शन गरेको बताए । उनले आगलागी हुदाँ हामी तयारी अवस्थामा छौ भन्ने सन्देश दिइएको बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको प्रमुख हरि बहादुर महत, उपप्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाली सेनाका प्रमुख सेनानी सुवासचन्द्र महत, राष्ट्रिय अनुसन्धान हेटौंडाका उपनिर्देशक पप्पुशर्मा पौडेल, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, रेडक्रसका प्रतिनिधि, शिक्षक/शिक्षिका, विद्यार्थी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।