मातृभूमिद्वारा ८ जना सम्मान गरिने

हेटौंडा/ मातृभूमि साहित्य समाज मकवानपुरद्वारा विभिन्न क्षेत्रमा सक्रिय ८ व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान गरिने भएको छ ।

बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष माधब पोख्रेलले वरिष्ठ संगीतकार शक्ती बल्लभलाई नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७८ प्रदान गरिने बताएका छन् ।

संगीतकार शक्ती बल्लभले ३० भन्दा बढी चलचित्रमा संगीत भरिनुका साथै ७ सय भन्दाबढी गीतहरुमा संगीत भरिसकेका छन् । त्यस्तै गोरखाका छन्द कवि सिताराम अधिकारीलाई होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान प्रदान गरिनेछ। त्यस्तै पर्वतका सायित्कार गंगा पौडेललाई मायादेवी मातृभूमि पुरस्कार, नवलपरासीका पुरातत्व विद् बसन्त विडारीलाई क्षेत्र बहादुर स्मृतिमातृभूमि सम्मान, ?मकवानपुरका नाट्य क्षेत्रका नाटककार तथा कलाकार उज्वल शर्मा भण्डारीलाई राजकुमार स्मृति मातृभूमि सम्मान गरिने छ भने लामो समय मकवानपुरमा पत्रकारिताका गर्दै आएका नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठलाई केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार प्रदान गरिने अध्यक्ष पोख्रेलले बताए ।

द भ्वाइस अफ किड्सका विजेता मकवानपुरे जेनिश उप्रेतीलाई मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान र मकवानपुरका सामाजिक अभियान्ता सरस्वती बर्तौलालाई मञ्जु सुवेदी स्मृति सम्मान २०७८ प्रदान गरिने जनाइएको छ । नगद सहित प्रमाणपत्र प्रदान गर्दै पुरस्कार तथा सम्मान गर्ने जनाइएको छ ।

चैत्र २६ गते शनिबार एक कार्यक्रमका बीच उनीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिने छ । कार्यक्रममा मातृभूमि साहित्य समाज मकवानपुरका उपाध्यक्ष कृष्णप्रसाद दाहाल, पुर्वअध्यक्ष देवराज खरेल, सल्लाहकार मुक्तिगोविन्द वैद्य, सचिव मञ्जु खराललगायतको उपस्थिती रहेको थियो ।