हेटौंडा/ मातृभूमि साहित्य समाज मकवानपुरद्वारा रचना वाचन तथा विभिन्न व्यक्तित्वलाई पुरस्कार तथा सम्मान गरिएको छ ।
समाजले शनिबार एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ संगीतकार शक्ती बल्लभलाई नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७८ प्रदान गरिएको छ ।
संगीतकार शक्ती बल्लभले ३० भन्दा बढी चलचित्रमा संगीत भरिनुका साथै ७ सय भन्दाबढी गीतहरुमा संगीत भरिसकेका छन् । बागमती प्रदेश सभाका पुर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा गोरखाका छन्द कवि सिताराम अधिकारीलाई होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान गरिएको थियो । पर्वतका साहित्यकार गंगा पौडेललाई मायादेवी मातृभूमि पुरस्कार, नवलपरासीका पुरातत्व विद् बसन्त विडारीलाई क्षेत्र बहादुर स्मृतिमातृभूमि सम्मान गरिएको हो ।
सोही समारोहमा मकवानपुरका नाट्य क्षेत्रका नाटककार तथा कलाकार उज्वल शर्मा भण्डारीलाई राजकुमार स्मृति मातृभूमि सम्मान र लामो समय मकवानपुरमा पत्रकारिताका गर्दै आउनुभएका पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठलाई केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
भ्वाइस अफ किड्सका विजेता जेनिश उप्रेतीलाई मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान र मकवानपुरका सामाजिक अभियान्ता सरस्वती बर्तौलालाई मञ्जु सुवेदी स्मृति सम्मान २०७८ प्रदान गरिएको छ । सम्मानित तथा पुरस्कृत हुने सबै व्यक्तित्वलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख संरक्षक मुक्ति गोविन्द वैद्य, मकवानपुरका अग्रज साहित्यकारहरु, समाजका उपाध्यक्ष कृष्णप्रसाद दाहाल, पुर्व अध्यक्ष देवराज खरेल, महासचिव हेमन्त ढुङ्गेल लगायत सामाजिक तथा राजनितिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।