महाधिवेशनको सन्दर्भमा प्रेस युनियन मकवानपुरद्वारा ट्रेड युनियन कांग्रेससँग छलफल


हेटाैंडा/ आगामी जेठ १३ र १४ गते नेपाल प्रेस युनियनकाे केन्द्रीय महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा गर्नको लागि तयारी सुरु गरिएको छ ।

सोमबार महाधिवेशन तयारीकाे सन्दर्भमा स्थानीय आयाेजक समन्वय समिति (नेपाल प्रेस युनियन मकवानपुर)ले नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरसँग छलफल गरेकाे छ ।

महाधिवेशन सम्पन्न गर्न आवश्यक सहयाेग र समन्वयकाे लागि आग्रह गर्दै आयाेजक समन्वय समितिले ट्रेड युनियन कांग्रेसकाे बागमती प्रदेश र मकवानपुर पदाधिकारी तथा सदस्यहरुसँग अन्तरक्रिया गरेकाे हाे ।

अन्तरक्रियाका क्रममा ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरुले युनियनकाे केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पाउनु मकवानपुरकाे लागि गाैरवकाे विषय भएकाे बताउँदै महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न सक्दाे सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरे । ट्रेड युनियन कांग्रेसले महाधिवेशन सम्पन्न गर्नकाे लागि जनशक्ति परिचालनदेखि अन्य विविध सहयाेग गर्न तयार रहेकाे जनाएकाे छ ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष एवम् महाधिवेशन सचिवालय, मञ्च तथा स्वागत समिति संयोजकमा पोष्टराज अधिकारी (कुमार)काे अध्यक्षतामा भएकाे कार्यक्रममा युनियनका केन्द्रीय सदस्य एवम् महाधिवेशन समन्वय उपसमिति संयाेजक राममणि दाहाल, आवास समिति संयाेजक रुपेश दुलाल, भाेजन समिति संयाेजक सुजन बिडारी, ट्रेड युनियन कांग्रेस बागमती प्रदेश उपाध्यक्ष विरेन्द्रकुमार लामा, मकवानपुर अध्यक्ष यमबहादुर श्रेष्ठ, उपाध्यक्ष ठाकुरप्रसाद चाैलागाई, शर्मिला श्रेष्ठ, काउन मकवानपुरका अध्यक्ष खलिल मिया अन्सारी, उपाध्यक्ष इन्तियाज खानलगायतकाे सहभागिता रहेकाे थियाे ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा महाधिवेशनको उद्घाटन गरिनेछ । महाधिवेशनमा करिब १ हजार ५ सय युनियनकर्मीहरुको सहभागीता हुनेछ ।