हेटौंडा एकेडेमीद्वारा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिइने

हेटौंडा/ हेटौंडा एजुकेशन फाउन्डेसनद्वारा संचालित हेटौंडा एकेडेमी आवासीय माविले जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश रिमालले आगामी शैक्षिक सत्रबाट कक्षा १ देखि ९ सम्म अध्ययनरतमध्ये ३३६ विद्यार्थीलाई परिक्षामा पाएको नतिजाको आधारमा छात्रवृत्ति दिने बताए । उनका अनुसार ‘माधवराज सुमार्गी स्मृति’ छात्रवृत्ति १८९ जना, ‘रुपचन्द्र विष्ट थाहा स्मृति छात्रवृत्ति १०८ र विश्वकान्ति कलावती सुमार्गी छात्रवृत्ति ३९ जनालाई प्रदान गरिनेछ ।

फाउन्डेसनका अध्यक्ष अरुणराज सुमार्गीले भने ‘छात्रवृत्तिहरुले विद्यार्थीहरुको पढाइमा केहि थप सुधार हुने र हिजो दिनमा हामीले जुन आर्थिक अभावका कारणले पढाइमा समस्या भोगेका थियौं त्यो अरु कुनै अभिभावक वा विद्यार्थीले भोग्नु नपरोस् भन्ने सोचेर हामीले छात्रवृत्तिहरु प्रदान गरिरहेका छौं ।

करिब २४ वर्ष अगाडि स्थापना गरिएको यस विद्यालयमा आगामी आर्थिक कक्षा १२ सम्मको अध्यापन पनि हुने सिइओ रिमालले बताए । हाल विद्यालयमा कक्षा १० सम्ममात्र अध्यापन हुने गरेको छ ।