बागमती प्रदेशका युवाहरुलाई आधार मानेर कार्यक्रमहरु ल्याइने: कार्यकारी उपाध्यक्ष चौलागाईं

हेटौंडा/ बागमती प्रदेश युवा परिषद्को प्रथम स्थापना दिवसमा परिषद्ले विभिन्न कार्यक्रमहरु अयोजना गरेको छ ।

बुधबार बिहान परिषद्को कार्यालय हेटौंडामा शुभकामना आदान प्रदान, अन्तरक्रिया, रक्तदान तथा हेटौंडा अस्पतालमा फलफूल वितरण कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाइएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यता तथा युवा तथा खेलकुद मन्त्रालयका सचिव धुर्ब गौडा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नबिन सिग्देल र जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष सुमन पाख्रीनलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटनमा बोल्दै मन्त्री ढकालले प्रत्यक स्थानीय तहमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिनुका साथै परिषद्ले तालिम दिँदा रोजगारीको सुनिश्चितता समेत दिने बताए ।

कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष चौलागाईंले युवाहरुले आफ्ना हक अधिकारको लागि बोलेर होइन गरेर काम देखाउनुपर्नेमा जोड दिए । उनका अनुसार परिषद्ले राष्ट्रिय युवा नीतिलाई आधार मानेर प्रदेश युवा नीति बनाउँदै गरेको र अब प्रदेशका युवालाई आधार मानेर कार्यक्रम ल्याइने छ ।

कार्यक्रम लगतै सबै अतिथीहरुको सहभागितामा हेटौंडा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । रक्तदान कार्यक्रममा पनि युवाहरुको उत्साहजनक सहभागिता रहेको कार्यकारी उपाध्यक्ष चौलागाईं बताउँछन् ।