हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका उपभोक्ताहरुलाई उपमहानगरपालिकाले १० हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाद्वारा मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ ।

बिहिवार हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामा, उपमेयर राजेश बानियाँ, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टसहित १८ वटा वडाका वडाध्यक्ष र बोर्डका पदाधिकारीको बैठकद्वारा बोर्डका उपभोक्ताहरुलाई मासिक १० हजार लिटर खानेपानी निशुल्क दिने निर्णय गरिएको हो । यसअघि बोर्डले १० हजार लिटरसम्म पानी प्रयोग गरे वापत उपभोक्ताहरुसँग मासिक ८५ रुपैयाँ महशुल लिइँदै आएको थियो ।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँका अनुसार खानेपानी निशुल्क गर्ने निर्णय आगामी नगर कार्यपालिकाको बैठकबाट औपचारिक निर्णय गरी कार्यान्वयन गरिनेछ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले नि:शुल्क खानेपानी उपलब्ध गराए वापत उपमहानगरपालिकाले उपभोगको आधारमा हुनआउने रकम बोर्डलाई उपलब्ध गराउनेछ । त्यसैगरी बोर्ड बाहेकका खानेपानी उपभोक्ता समितिका उपभोक्ताहरुलाई समेत बोर्डमा समेटेर सुविधा उपलब्ध गराइने जानकारी प्राप्त भएको छ ।

यसैगरी गठबन्धनबाट निर्वाचित भएको तीन महिनामै नगरमा मेयर मीनाकुमारी लामा र उपमेयर बानियाँले आफ्नो चुनावी घोषणा पत्र अनुसार गरिएको प्रतिबद्धता पूरा गरेका छन् ।