हेटौंडा कोरा साइक्लिङ च्यालेन्ज, २ सय साइकल यात्री सहभागी हुँदै


हेटौंडा/ करिब २ सय जनाको सहभागितामा हेटौंडा कोरा साइकल र्‍याली हुने भएको छ ।

शुक्रबार कोरा साइकल र्‍यालीका आयोजक संस्था हेटौंडा राइडर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा साइकल र्‍यालीको तयारी पूरा भएको अध्यक्ष बिकास ताम्राकारले जानकारी दिएका छन् । उनका अनुसार शनिबार बिहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्‍याली करिब ५० किलोमिटरको यात्रा पूरा गर्नेछन् भने र्‍यालीमा करिब २ सयजनाको सहभागीता रहनेछ । भुटनदेवी मन्दिरबाट हर्नामाडीस्थित गुम्बाडाँडा पुगेर हटियाहुँदै हेटौंडा मुख्यबजारस्थित बुद्धचोकमा आएर साइकल र्‍याली टुंगिनेछ ।

र्‍यालीको लागि करिब ३ लाख ७० हजार रुपैयाँ खर्च हुने अध्यक्ष ताम्राकारको भनाइ छ । कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिका तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएको उनी बताउँछन् ।

कार्यक्रममा १६ वर्षमाथिका मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

र्‍यालीमा काठमाडौं, पोखरा, धरान, बारा, पर्सा, रौतहट र चितवनलगायत जिल्लाबाट साइकल यात्री सहभागी हुनेछन् । साइकल यात्रामा सहभागीहरुलाई मनोरञ्जनका लागि हेटौंडाको अनविज्ञ व्याण्डबाट सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

Pop Up WordPress Plugin