एसएलसी उतिर्ण भएको ३१ वर्षपछि कक्षा ११ भर्ना हुँदै वडा अध्यक्ष खनाल


हेटौंडा/ मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकाको एक वडा अध्यक्ष कक्षा ११ मा भर्ना भएका छन् ।

मनहरी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष शिव प्रसाद खनाल एसएलसी उतिर्ण भएको ३१ वर्षपछि उच्च शिक्षा अध्ययन गर्नको लागि आईतबार आफ्नै वडाको श्री बाल जिवन ज्योति माध्यमिक विद्यालयमा शिक्षा संकाय तर्फ कक्षा ११ मा भर्ना भएका छन्  । उनी त्यस विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।

२०४८ सालमा सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उतिर्ण गरेका खनाल २०७९ को स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक पनि मनहरी-१ को वडा अध्यक्षमा विजयी भएका हुन् ।

‘पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्ने कुरा महसुस गरेँ । साथै, राजनिति गरेर समाज सुधार गर्नको निम्ती पनि शिक्षा सबैभन्दा आवश्यक रहेकोले मैले विद्यालयको कक्षा ११ मा भर्ना भएको हुँ’ वडा अध्यक्ष खनालले भने ।