गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्छ: स्वास्थ्यमन्त्री लामा


काठमाडौं/ बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल औषधि थोक व्यवसायी संघको काठमाडौंमा शनिबार भएको राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रममा मन्त्री लामाले गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्नेमा जोड दिएका हुन् ।

औषधि उत्पादनलाई स्वास्थ्य क्षेत्रको मेरुदण्डको रूपमा लिइएको बताउँदै उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि उच्च गुणस्तरका औषधिजन्य उत्पादन सस्तो मूल्यमा निर्बाध उत्पादन र आपूर्ति गर्न आवश्यक रहेको बताए । उनले बागमती प्रदेशले औषधिजन्य उत्पादन (औषधि) को समग्र खरिद र आपूर्ति सहज रूपमा हुने सुनिश्चित गर्ने बताए । उनले औषधिको बिक्री प्रमाणित व्यक्तिहरू मार्फत हुनुपर्नेमा जोड दिंदै उनले त्यसको प्रभावकारी अनुगमन सुनिश्चित गरिने बताए ।

बागमती प्रदेश सरकार नेपाल भित्रै औषधि उत्पादनलाई प्रोत्साहन गर्न प्रतिवद्ध रहेको बताउँदै उनले यसले गुणस्तरीय स्वास्थ्य सेवामा टेवा पुर्याउनुका साथै रोजगारीहरू सिर्जना गर्ने र बाह्य एजेन्सीहरूमाथिको निर्भरता कम गर्न सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न सरोकारवाला जुट्नुपर्ने बताए ।