मकवानपुरलाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्छ: शिक्षा विकास तथा समन्वय प्रमुख गौतम

हेटौंडा \  नवोदय शिशु सदनको आयोजनामा भएको ३ दिने नमूना संयुक्त राष्ट्रसंघीय सभा कार्यक्रमको समापन भएको छ ।

नमूना संयुक्त राष्ट्रसंघीय सभाका महासचिव रेजा विष्टको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यता र सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन शर्मालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै गौतमले शिक्षालाई विशेष प्राथमिकतामा राखी मकवानपुरलाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

नमूना महासभामा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्, आर्थिक र वित्तीय मामिला परिषद्, खाद्य तथा कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघीय पर्यावरणलगायत प्रमुख एजेन्डामा रही विद्यार्थीहरुले छलफल गरेका थिए । नमूना महासभामा सहभागी भई आफूले कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रसंघमा मुलुकको प्रतिनिधित्वका विषयमा बुझ्ने अवसर पाएको मकवानपुर बालविद्या सदनका छात्रा जेनिशा आले मगरले बताइन् । यूनिटीले मात्र कामको सफलता मिल्ने, कमिटी सेसनबाट धेरै कुरा सिक्न पाएको कार्यक्रममा सहभागि विद्यार्थीहरुले बताए ।

विभिन्न देशको रुपमा भूमिका निर्वाह गर्ने, संयुक्त राष्ट्रसंघका विभिन्न समितिमा रही कार्य गर्ने र सभामा राम्रो भूमिका निर्वाह गर्ने विद्यार्थीलाई मायाको चिनोप्रदान गर्नुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो । तीनदिनसम्म सञ्चालन भएको दोस्रो दिन सोमबार सभामा सहभागी हुन फरक फरक विद्यालयबाट आएका विद्यार्थीबीच हार्दिकता अभिवृद्धि गर्न तथा कला प्रस्तुत गर्न सामाजिक सन्ध्याको आयोजना गरिएको थियो । नमूना संयुक्त राष्ट्रसंघीय सभाका महासचिव विष्टले विद्यार्थीलाई जिम्मवारी प्रदान गरि कार्यक्रम आयोजना गर्न दिनुभएकोमा विद्यालयप्रति हार्दिक आभार व्यक्त गरिन् ।

कार्यक्रममा नवोदय विद्यालयका विद्यार्थीसहित हेटौंडा एकेडेमी विद्यालय, तुलसी मेहर विद्यालय, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, मकवानपुर बाल विद्या सदन, ब्रहमदिक एकेडेमीका विद्याथीको सहभागिता रहेको थियो ।