हेटौंडा | मामाघर नेपाललाई सहयोग गर्ने उद्देश्यले अनविज्ञ ब्यान्डद्वारा हेटौंडाको ५ स्थानमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।
शनिबार शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार सम्मेलनको आयोजना गर्दै अनविज्ञ ब्यान्डका संरक्षक पर्वतजंग गुरुङले सोमबार लक्ष्मी पुजाको दिनदेखि ५ दिनसम्म देउसीभैलो कार्यक्रमलाई निरन्तरता दिने बताए ।
गुरुङका अनुसार ब्यान्डले हेटौंडाको स्वर्गलोक पथ, संगमचोक, चाैकीटोल, कामने, क्याम्पाडाँडा लगायत विभिन्न ठाउँमा देउसी भैलो खेलिने छन् ।
विगत १० बर्षदेखि खेलिँदै आएको देउसी भैलो यसबर्ष अभिभावक बिहिन भान्जलाहरूलाई आश्रय दिइरहेको मामाघर नेपाललाई सहयोग गर्ने उद्देश्यले १० जनाको टिममा देउसी भैलो खेल्न लागिएको हो ।
देउसी भैलो कार्यक्रमको लागि लगभग ७० हजार रुपैयाँ खर्च हुने गुरुङले अनुमान लगाएका छन् । देउसी भैलो कार्यक्रमबाट १ लाख ५० हजार रकम संकलन गरिने लक्ष्य रहेको ब्यान्डले जानकारी गराए ।
अनविज्ञ ब्यान्ड मकवानपुरका म्यानेजर तथा कार्यक्रम संयोजक संग्राम बल लामाले जिल्लामा पहिलो पटक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले युवाहरुले सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले देउसी भैलो गर्न लागेको बताए ।
विगतमा विभिन्न परिस्थिति तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्दै आइरहेको भएपनि अभिभावक विहिन भन्जाहरुलाई आश्रय दिइरहेको मामाघरलाई पहिलो पटक सहयोगार्थ देउसी भैलो कार्यक्रम गरिने बताए ।