मकवानपुर | नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फका उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली झुठ र भ्रमको राजनीति गरिरहेको भन्दै आलोचना गरेका छन् ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाकामा आइतबार भएको गठबन्धन दलले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बानियाँले एमाले नेता र नीति ठिक नभएको पार्टी भएको भन्दै यस्तोले मुलुकलाई निकास दिन नसक्ने दावी गरे ।
वर्तमान व्यवस्थाई ढाल्नको लागि केपी ओलीले दुइ दुइ पटकसम्म संसद विघटन गरेको स्मरण गर्दै बानियाँले अब जनताले तीनलाई विश्वास गर्न नसक्ने बताए । ‘ओलीको पार्टीले जितेमा मुलुकको विकास हुन नसक्ने देखेपछि जनताको अवस्था परिवर्तन गर्न लोकतान्त्रिक बाम गठबन्धन बनेको छ, यो गठबन्धनदेखि ओली अत्तालिएका छन् ।’ बानियाँले भने–‘गठबन्धनदेखि आत्तिएका ओलीले जनता मार्ने कमल थापा र देश टुक्र्याउन लागिपर्ने सिके राउत जस्ताको पार्टीसंग मिलेर लठबन्धन गरिरहेका छन् । केपी ओली झुट र भ्रमको खेती गर्न महानायक हुन् ।’ स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीलाई भुलेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले पनि केपी ओली नेतृत्वको एमालेको चर्को आलोचना गरेका थिए । यसअघि एमाले नेतृत्वको सरकार हुँदा जनताले विकासको अनुभूति नै गर्न नपाएको भन्दै अब गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । आफू यसअघि सांसद हुँदा पनि धेरै कामहरु गरिएको स्मरण गराए ।
माओवादी केन्द्रबाट मकवानपुर क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तनले कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले साढे तीन वर्षसम्म गर्न नसकेको काम गठबन्धन नेतृत्वको सरकारले एक वर्षकै अवधिमा गरेर देखाएको बताइन् । आफू प्रदेशको सामाजिक विकास मन्त्री भएपछि छोटो अवधिमै आफ्नो क्षेत्रमा प्रसस्तै बजेट विनियोजन गरिएको उनले बताइन् ।
नेपाली कांग्रेसका इन्द्रसरोबर गाउँपालिका गाउँपालिका सभापति विश्वलाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पालिका अध्यक्ष कुनसाङ लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि गठबन्धन दलले चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ ।