मकवानपुर | नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नं. २ ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेपालको हरेक परिवर्तनमा महिलाहरुको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
सोमबार मनहरीको रजैयामा लोकतान्त्रिक बाम गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका महिला संगठनको संयुक्त भेलामा बोल्दै नेता बानियाँले राणा, राजा र गणतन्त्र स्थापनाको लागि नेपाली महिला दिदीबहिनीहरुको अग्रणी भूमिका रहेको बताए ।
केपी ओली नेतृत्वको एमालेका् नीति, नियत र नेता ठिक नभएको भन्दै नेता बानियाँले ओली नेतृत्वको एमालेले संविधान, गणतन्त्र र ब्यवस्था मास्न दुईदुई पटक संसद भंग गर्ने जस्तो घृणित कार्य गरेकाले यो लोकतान्त्रिक बाम गठबन्धनको निर्माण भएको बताए।
स्थानीय निकायको निर्वाचनमा केही तिक्तता भए र नमिलेको मन भए मिलाएर लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन आग्रह गर्दै नेता बानियाँले अब आम मतदातालाई घरघरमा गएर मतदान शिक्षा सिकाउन लाग्नसमेत अनुरोध गरेका छन् ।
कांग्रेस नेतृ कमला मैनालीको सभाध्यक्षतामा भएको लोकतान्त्रिक बाम गठबन्धनका महिला संगठनहरुको संयुक्त भेलामा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, कांग्रेस मकवानपुरकी सहसचिव ईन्दिरा न्यौपाने, माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सीता पुलामी, एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य आशा बल, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्र मनहरी अध्यक्ष रामप्रसाद कालाखेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।