मकवानपुर | भीमफेदी गाउँपालिका १ का नेपाली कांग्रेसका नेता श्यामकुमार बलले आफूले पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेको भनी भ्रम फैल्याएको बताएका छन् ।
नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा भीमफेदी १ नम्बर वडा अध्यक्षसमेत निर्वाचित बललाई सामाजिक गतिविधिबारे छलफल छ भन्दै लगेर फोटो खिचाएर एमाले प्रवेश गरेको भ्रम फैल्याइएको बताएका हुन् ।
उनले एक विज्ञप्ति जारी गर्दै आफूले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको भन्ने हल्ला भ्रम मात्र भएको र आफू कांग्रेसमै आवद्ध रहेको बताएका हुन् ।
आफू लामो समयदेखि कांग्रेसमै रहेको र अझै निरन्तर कांग्रेसमै रही जनताको सेवा गरिरहने उनले प्रतिवद्धता जनाएका छन् ।
माओवादी केन्द्रको बागमती प्रदेश खेलकुद इन्चार्ज जनक बर्तौलाका अनुसार बुधबार एमालेका कार्यकर्ताहरुले सामाजिक गतिविधिबारे छलफल गर्न भनी बललाई झुक्काएर एक कार्यक्रममा सहभागी गराएको थियो ।
‘गैरराजनीतिक विषयमा सल्लाह छ भनी बोलाएकाले म गएर केहीबेर बसेको हुँ तर, एमाले प्रवेश गरेको भन्ने गतल प्रचार गरियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनप्रति जनमत उर्लिएको देखेर गठबनधनको मत घटाउने उद्देश्यले विचलित मानसिकताबाट ग्रसित भएर एमालेले यस्तो काम गरेको हो ।’–उनले भने ।
बलले आफु लामो समय देखि नेपाली काग्रेस पार्टी प्रति आस्थावान रही आएकाले गलत प्रचारको विश्वासमा नपर्न सबैमा अनुरोध गरे ।