कविता :दशै

त्रिलोचन सुवेदी
भत्किनै आटेको घरको भित्तामा
शहरको कोचाकोच माईक्रोमा खलासि अडिएझै
अडिएको छ पोहोरसाल लिपेको गोबर र माटोको पाप्रा ।

गाडि भित्र सिटमा बसेको मान्छेले
झ्यालबाट टाउको निकालेर
अगाडिको बाटो हेरेझै
हेरेको छ भित्ताको पाप्राले
शहरबाट फर्किनेको बाटो
पिडिमा फूल्न लागेका फूलका गुथा ।

शहर पसेकाले घर सम्झियुन या बिर्सियुन
एक पटक मज्जाले सम्झदो रैछ घरले

शहर पसेको छोरो आओस

उखालोस भनेर बसेको छ
घरवरिपरिको झार
बुहारि आओस

लिपोस भनेर
गेरू र कमेरोको छिर्के मिर्के अनुहार लिएर
बसेको छ घरको भित्तो
तर,

छोरो आउछ टिका थाप्ने दिन पारेर
बुहारि आउछे उसैदिन
नातिनातिना आउछन उसैदिन ।

उसैपनि छैन दशै पहिले झै रमाईलो
गाउँमा पिङ छैन,
केटाकेटिको हो हल्ला कम छ
दुर्गा पुजा छैन
रात्रिकालिन चहलपहल पनि कम छ ।

उसैपनि दशै पहिले झै छैन रमाईलो
जमाना अनुसार रमझम
साघुरिदै छ ।
पहिले जस्तो निधार पुरै ढाक्ने गरि
टिकाको क्षेत्रफल हुदैन आजकल
निधारमा हुने टिकाको क्षेत्रफल
साघुरिदै छ ।
जसरि साघुरिदैछ दशैको रमझम ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *