मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा खटिने कर्मचारीहरुलाई नियुक्तिपत्र वितरण गरिने भएको छ ।
मकवानपुरको क्षेत्र नम्बर–१ र २ मा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनावमा खटिएका कर्मचारी र शिक्षकहरुलाई सोमबार र मंगलबार नियुक्तिपत्र वितरण गर्न लागेको हो ।
कर्मचारीहरु जुन निर्वाचन क्षेत्रमा खटिएका छन् त्यही निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई नियुक्तीपत्र वितरण गर्ने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । जिल्लामा ३ हजार कर्मचारी खटाइने भएको छ । ३ हजार मध्यमा ५ सय जना सहायक स्तरका शिक्षकहरुलाई पनि खटाउने भइएको छ । नियुक्तपत्र लिइसकेपछी कर्मचारीलाई चुनाव खर्च र मतपत्र लगायतका मतदानका दिन चाहिने सामाग्री पनि हस्तान्तरणको तयारी गरिएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए।
मकवानपुरका प्रत्यक मतदान केन्द्रमा कर्मचारीहरु खटाउन लागिएको छ । स्थानीय तहको चुनावमा भन्दा प्रदेश र प्रतिनिधीसभाको चुनावमा धेरै कर्मचारी यस जिल्लामा खटिने भएका छन् ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिव स्तरका कर्मचारीहरु मतदान अधिकृत रहेका छन् भने अधिकृत स्तरका सहायक अधिकृत खटिएका छन् । जिल्लाको गाउँ गाउँमा भने अधिकृत तहका मतदान अधिकृत खटाइएको छ भने नायव सुव्बा तहका कर्मचारीलाई सहायक अधिकृतको रुपमा खटाइएको छ । शिक्षकहरुलाई भने सहायक स्तरका कर्मचारीको रुपमा मात्र खटाइएको निरौलाले बताए ।