मकवानपुर । लियो जिल्ला परिषद् ३२५ एम नेपालको दोस्रो जिल्ला परिषद् बैठक थाहानगरमा हुने भएको छ ।
लियो क्लब अफ पिस थाहानगरको आतिथ्यतामा पालुङ जेसीजको हलमा आगामी पुस १५ र १६ गते परिषद् बैठक आयोजना हुने कार्यक्रम संयोजक कमल बिष्टले बताए ।
बैठकमा जिल्ला परिषद ३२५ एम अन्तरगत २४ क्लबका सयौंका संख्यामा युवाहरु र अतिथिहरुको सहभागिता रहने संयोजक बिष्टले बताए ।
उनका अनुसार सहभागहिरुलाई आवास र खानाको राम्रो प्रवन्ध भएको र थाहा नगरका पर्यटकीय स्थानहरुको परिचय सहित भ्रमणको ब्यवस्था समेत गरिएको बताए । यसले थाहा नगरको पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिष्टले बताए ।
अंग्रेजी नयाँ बर्ष २०२३ को पूर्वसन्ध्यामा हुने बैठकमा उत्कृष्ट क्लब र क्लबका सदस्यहरुलाई पुरस्कृत गरिनुका साथै पिस परेड, स्थानीय कला संस्कृतिको प्रदर्शनी र पर्यटकीय स्थलहरुको दृश्यावलोकनका कार्यक्रमहरु पनि राखिएको लियो क्लब अफ पिस थाहानगरको सन् २०२२/०२३ कि अध्यक्ष निशा बिष्टले जानकारी दिइन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहा नगरमा परिषद् बैठकको आयोजना हुन लागेकोले सहभागीहरुलाई यस क्षेत्रको पर्यटकीय ज्ञानको हिसावले पनि यो बैठक बिशेष अवसर हुने कार्यक्रमकी उपसंयोजक रोसनी गोपालीले बताइन् । उनले बैठकमा सहभागी हुन आउँदा चिसो मौसम र हिउँ पर्ने संभावना भएकोले न्यानो कपडाको साथ आउन अनुरोध समेत गरिन् ।
लायन्स क्लव अफ पिस थाहाको सौजन्यमा पाँच बर्ष अघि स्थापित सो क्लवले यस अघिपनि जिल्ला परिषद् बैठकको सफलतापूर्वक आतिथ्यता गरिसकेकोे छ ।