मकवानपुर | नेपाली चलचित्र तिम्रो मेरो साथको निर्माण तथा कलाकार टोली हेटौंडा आइपुगेका छन् ।
चलचित्र प्रचारप्रसारको क्रममा टोली हेटौंडा आइपुगेका हुन् ।
पुस २९ गते नेपाल सहित विभिन्न देशहरुमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र तिम्रो मेरो साथका निर्देशक तथा निर्माता रमेश पौडेल, कलाकारहरु सन्दिप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टोलीले हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रबारे जानकारी दिएका थिए ।
चलचित्र प्रेम कथामा आधारित थ्रीलर मुभि रहेको चलचित्रका निर्देशक पौडेलले बताए । लामो समय सञ्चार जगतमा रहेर काम गरेका पौडेल चलचित्रको निर्माता समेत हुन् । धेरै चलचित्र निर्माण गरिसकेका पौडेलले यही चलचित्र मार्फत निर्देशन पक्षमा समेत हात हालेका छन् ।
वीरगञ्जमा रमेश समवेदना पौडेल भनी चर्चित सञ्चारकर्मीको नाम कमाएका पौडेलले भने ‘सञ्चारकर्मीले बनाएको र खेलेको चलचित्रलाई माया गरिदिनुस् ।’ चलचित्रमा हास्यकलाकार, अभिनेता तथा सञ्चारकर्मी सन्दिप क्षेत्री सहित पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल, खड्ग बहादुर पुन(खबपु) लगायतको कलाकारहरुको अभिनय रहेको पौडेलले बताए ।
चलचित्र पुस २९ गते नेपालभर एकसाथ प्रदर्शन हुनुको साथै अमेरिकामा ३० वटा, क्यानडामा २७ वटा, अष्ट्रेलियामा १६ वटा सिनेमा हलहरुमा प्रदर्शन हुने निर्देशक पौडेलले बताए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, चलचित्र पत्रकार संघ मकवानपुरका कार्यवाहक अध्यक्ष कपिल खड्का, संस्थापक अध्यक्ष कुमार अधिकारीलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।