नोभीस बक्सिङको तयारी पूरा, मकवानपुरका ७ खेलाडी सहभागी हुने

मकवानपुर | बागमती प्रदेशको राजधानी हेटौंडामा हुन लागिएको अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुने लागिएको हो ।

आइतबार मकवानपुर जिल्ला बक्सिङ संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएका छन् ।

प्रतियोगिता फागुन ३० गतेदेखि चैत्र ४ गतेसम्म हेटौंडा–४, परिजातपथको बक्सिङ कभर्ड हलमा हुने मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष तथा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको कार्यक्रम संयोजक दीपेश जोशीले बताए ।

उनका अनुसार प्रतियोगितामा २३ जिल्लाको ३७ क्लबबाट १७ वर्षदेखी २१ उमेर समूहका १ सय ७८ जना खेलाडीहरुको सहभागीता रहनेछ । जसमध्ये महिला खेलाडीको संख्या २८ रहेको छ ।

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा खेल संचालन हुनेछ । जसमा प्रत्येक तौल समूहका विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुने २ खेलाडीले क्रमशः दश हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम, बेष्ट रेफ्री र बेष्ट लुजरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष जोशीले बताए ।

मकवानपुर जिल्ला बक्सिङ संघका उपाध्यक्षसमेत रहेका हेटौंडा-५ का वडा अध्यक्ष सुशील घिमिरेले प्रत्येकदिन खेलको म्यान अफ द म्याचलाई वडा कार्यालयको तर्फबाट ३ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिए । उनी बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी पनि हुन् ।

प्रतियोगितामा मकवानपुरका ७ जना खेलाडीको सहभागिता रहने संघले जानकारी गराएको छ ।

Pop Up WordPress Plugin