मकवानपुरको इन्द्रसरोबर गाँउपालीका वडा नं २ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयबाट २०७९ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरुलाई स्थानीय जनप्रतिनिधि तथा होटल व्यवसायीहरुले आर्थिक सहयोग गरेका छन् ।
एसईई परीक्षामा सहभागी पञ्चकन्या माविका विद्यार्थीहरुलाई हौसला मिलोस भन्ने उद्देश्यले इन्द्रसरोबर–२ का वडा अध्यक्ष सुमन श्रेष्ठको पहलमा ४८ हजार नगद संकलन गरि विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।
पञ्चकन्याबाट १५ जना विद्यार्थीहरु यस बर्षको एसईई परीक्षामा सहभागी भएका छन् । उनीहरुको परीक्षा केन्द्र इन्द्रसरोबर गाउँपालिकाको मार्खुमा रहेको सरस्वती बालबोधनी माविमा रहेको छ ।
विद्यार्थीहरुलाई आवतजावतमा समस्या हुनेभएपछि उनीहरु मार्खु स्थित विद्यालय नजिकै भाडामा बसेर परीक्षा दिइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग पुग्ने र विद्यार्थीहरुलाई अध्ययनमा समेत हौसला मिल्ने भएकाले देउरालीका सम्पूर्ण होटल व्यवसायीहरुले सहयोग गरेको देउराली सुधार समितिका अध्यक्ष सुसन श्रेष्ठले जानकारी दिए ।
सहयोग रकम हस्तान्तरणका अवसरमा विद्यालयका प्रधानध्यापक प्रेम थापा मगरले वडा अध्यक्ष सुमन श्रेष्ठ र होटल व्यवसायीहरुको सहयोगले विद्यार्थीहरुलाई परीक्षा दिलाउँन सहज भएको बताए ।