हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका सांसदहरूले पार्टीको कार्यदलसँग छलफल बिना २ मन्त्री नियुक्त भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
कांग्रेसको तर्फबाट २ मन्त्री नियुक्त हुँदा आफूहरुलाई केही जानकारी नै नगराई काठमाडौंबाट हेटौंडा आएर सपथ लिएको भन्दै सांसहरुले असन्तुष्टि जनाएका हुन् ।
आइतबार शालिकराम जम्मकट्टेल नेतृत्व बागमती प्रदेश सरकारमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसका काभ्रे जिल्ला सभापतिसमेत रहेका प्रदेशसभा सदस्य तिर्थबहादुर लामाले खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रीको सपथ लिएका थिए ।
बागमती प्रदेश सरकारमा सिट बाँडफाँड मिलाउन कांग्रेसले प्रदेशसभा सदस्य चित्रकारको नेतृत्वमा यसअघिनै कार्यदल बनाइसकेको थियो ।
कार्यदलका संयोजक चित्रकारका अनुसार कांग्रेसको ६ वटा मन्त्रालयमा दावी रहेको तथा मन्त्रीहरुको नाम कार्यदलमा बृहत् छलफल पश्चात् मुख्यमन्त्री जम्मकट्टेललाई बुझाउने तयारी भइरहेको थियो ।