मकवानपुर | कैलाश गाउँपालिकाले ६ जना चेलीलाई सम्मान गरेको छ ।
बुधबार कैलाशको चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत गाउँपालिकाले कम्तिमा १०+२ पास गरी २० बर्ष वा सो भन्दा माथि उमेर पुगि विवाह गर्ने ६ चेलीलाई सम्मान तथा प्रोत्साहन स्वरुप २० हजार रूपैयाँ प्रदान गरेको हो ।
सम्मानित हुनेमा कैलाश-२ कि लक्ष्मी मोक्तान, कैलाश-६ की संगिता ढुंगाना, प्रतिभा अर्याल, लक्ष्मी श्रेष्ठ, कैलाश-९ कि उर्मिला थिङ र कैलाश-१० की सरुया प्रजा रहेकी छन् ।
कैलाश गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा २ नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङको सभाध्यक्षतामा भएको चेली सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता, उपाध्यक्ष बालकुमार मल्ल र नेपाल पत्रकार महासंघको बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलालको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि मुक्तानले अभिभावकहरुमा सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यले गत असार १० गते पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रमबाट चेली प्रोत्साहन कार्यक्रम अघि बढाउने निर्णय साच्चिकै पृथक कार्य रहेको बताए । उनले आगामी दिनहरुमा पनि चेली प्रोत्साहन कार्यक्रममा सम्मानित हुने चेलीको संख्या आजको भन्दा दोब्बर देख्न पाइने कुरामा आफू विश्वस्त रहेको बताए ।