बाढी-पहिरोको खतरा औंल्याउँदै कैलाशद्वारा गाउँबासीलाई सचेत रहन आग्रह

मकवानपुर| कैलाश गाउँपालिकाले अविरल वर्षासँगै बाढी-पहिरोको जोखिम रहेकाले सचेत रहन गाउँबासीलाई आग्रह गरेको छ ।

आइतबार सूचना जारी गर्दै गाउँपालिकाले निरन्तर वर्षाका कारण बाढी-पहिरोका जोखिमका साथै जनधनको क्षति हुनसक्ने भन्दै सचेत रहन र आपत परेमा सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

जिल्ला प्रहरी, स्थानीय प्रहरीका साथै गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरुकोसमेत सम्पर्क नम्बर उल्लेख गरी गाउँपालिकाले कुनै विपदको जोखिम देखिएमा वा कुनै घटना भए तत्काल सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टका अनुसार कैलाश बाढी-पहिरोको उच्च जोखिम रहेको क्षेत्र रहेको हुँदा केहीदिन भारी वर्षाको प्रवल सम्भावना रहेकोले खहरेको तटीय बस्ती र पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्नेहरुले आवश्यक सचेतता अपनाउनुपर्ने छ ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँमा कुनै पनि विपदका घटना नहोस् भनी सचेतना फैल्याउने काम गरिएको र सम्भावित विपदको सामना गर्न गाउँपालिकाले आवश्यक व्यवस्थापन तयारी गरिसकेको बताएका छन् । विभिन्न संघसंस्थासँगको समन्वयमा आफूहरु सम्भावित विपदमा उद्दार र राहतका लागि तयारी हालतमा रहेको बताए । ‘सकभर गाउँमा विपद नपरोस् भन्नका लागि सचेत गराएका छौं, गाउँको भौगोलिक बनावटका कारण बाढी पहिरोको बढी जोखिम छ, यदि विपदका घटना भइहाले उद्दार, राहत र अन्य व्यवस्थापनको लागि गाउँपालिकाले तयारी गरेको छ ।’ उनले भने ।

Pop Up WordPress Plugin