मकवानपुर | स्थानिय सरकारले जनप्रतिनिधिको हेल्प डेक्स नै राखेर सेवा दिने नीति ल्याउनुपर्ने बेलामा हेटौंडा उपमहानगरपालिकाको वडा कार्यालयहरुमा भने बिचौलियाहरुले सेवाग्राहीबाट मनपरी ढंगले पैसा असुल्ने गरेको जनगुनासो आइरहेको छ ।
सेवाग्राहीलाई प्रभावमा पारेर बिचौलियाहरुले नागरिकता सिफारिस, व्यक्तिगत घटना लगायत बिभिन्न फारम भरेको पैसा लिइरहेका छन् ।
जनप्रतिनिधिको संरक्षणमा अधिकांश वडा कार्यालयहरुमा बसेका बिचौलियाहरुले सरकारी काजगपत्र र फारम भरेको चर्को शुल्क असुल्ने गरेको सेवाग्राहीहरु बताउँछन् ।
हरेक दिन कार्यालय समयमा आएर वडा कार्यालय परिसरमा बसेर वडाकै श्रोत र साधन प्रयोग गरि बिचौलियाहरुले सेवाग्राहीबाट खुलेआम आफुखुशी पैसा असुलिए पनि त्यहाँका जनप्रतिनिधिहरु मुकदर्शक भएर बसेका छन् । त्यतिमात्र होईन, वडा कार्यालयले ति बिचौलियाले सेवाग्राहीबाट लिने शुल्क समेत तोकेको छैन । शुल्क नतोकिएपछि उनीहरूले विभिन्न फारम भरेको ५० देखि दुई/तीनसय रुपैयाँ लिने गरेको एक सेवाग्राहीले बताए ।
यस विषयमा वडा अध्यक्षहरुसँग बुझ्दा उनीहरुले बेरोजगारले रोजगारी समेत पाइरहेकोले आफुहरुको निगरानीमा काम गर्न दिइएको बताए । एक वडा अध्यक्षले सेवाग्राहीहरु आफै सक्षम नभएकोले शुल्क तिर्नुपरेको भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिएका छन् । त्यसैगरी सेवाग्राहीबाट शुल्क तिराएर काम गराउनु भन्दा वडाका जनप्रतिनिधिहरुले नै नि:शुल्क सेवा दिए हुँदैन र ? भन्ने हाम्रो प्रश्नमा एक वडा सदस्यले त वडा अध्यक्षले बैठक बोलाए आउने नत्र वडा कार्यालय ढुकेर सेवाग्राहीको फारम भरेर बस्ने काम हाम्रो नरहेको जवाफ दिए ।
वडा कार्यालयहरुमा बिचौलियाबाट चर्को शुल्कको मारमा पर्दै आएको सेवाग्राहीहरुको समस्या बारे हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामासँग कुरा गर्दा उनले यस विषयमा आफू अनविज्ञ रहेको भन्दै पन्छिन खोजिन् । यसको व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिकाले केकस्तो कदम चाल्छ ? भन्ने हाम्रो प्रश्नमा मेयर लामाबाट चित्तबुझ्दो जवाफ भने आएन ।
बास्तवमा उपमहानगरपालिकाले जनप्रतिनिधिबाट निःशुल्क हेल्पडेक्स संचालन गर्ने निति लिएर वडा–वडामा कार्यान्वयन गर्नुपर्नेमा उल्टै कार्यालय परिसरमै बिचौलियाले सेवाग्राहीबाट पैसा असुल्ने कार्य भइरहेको छ ।