मनहरी गाउँपालिका र चेपाङ्ग समुदायका अग्रज व्यक्तित्वहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आदीवासी जनजाती समुह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चेपाङ्ग समुदायका अगुवाहरुले विशेषगरी स्वास्थ्य र शिक्षामा प्राथमिकताकालागि आग्रह गरेका थिए । विकास निर्माणका कार्यहरुमा सो समुदायलाई समेट्नु पर्ने उनीहरुको माग थियो । साथै चेपाङ्ग जातीलाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउन पनि उनीहरुले अनुरोध गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित बागमती प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास राज्यमन्त्रि सन्त बहादुर चेपाङ्गले आफ्नो कार्यकालमा चेपाङ्गका लागि उल्लेखनीय कार्य गरेको दावी गरे । हालसम्म १ अर्ब ६० करोँड लगानी गरी चेपाङ्ग समुदायको स्तरोन्नतीका कार्यक्रमहरु ल्याइएको उनको भनाई छ ।
त्यसैगरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले चेपाङ्ग समुदाय लक्षित बजेट निर्माणका लागि सबैको सल्लाह अनुसार अघि बढ्ने उद्घोष गरे । सीमान्तकृत चेपाङ्ग समुदायको निःशुल्क शिक्षा र स्वास्थ्यका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउँदै आवश्यकता अनुसार वडा कार्यालयको सीफारीस अनुसार सेवा लिन आग्रह गरे ।
कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, ४ नम्बर वडाअध्यक्ष प्रकास थापा, १ नम्बर वडाअध्यक्ष शिव खनाल र ३ नम्बर वडाअध्यक्ष अनन्त प्रकाश अर्याल लगायतको उपस्थिती रहेको थियो । सामाजीक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालद्धारा सञ्चालित कार्यक्रममा चेपाङ्ग समुदायबाट ४५ जना अग्रज चेपाङ्गहरुको उपस्थिती रहेको थियो ।