बस्ताकोटीको नेतृत्वमा जनप्रियको नयाँ व्यवस्थापन समिति गठन

जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को व्यवस्थापन समितिको अध्यक्षमा मोहन प्रसाद बस्ताकोटी सर्वसम्मत चयन भएका छन् ।

आइतबार हेटौंडा-१६ स्थित विद्यालयमा भएको भेलाले बस्ताकोटीको नेतृत्वमा नयाँ व्यवस्थापन समिति चयन गरिएको हो ।

बस्ताकोटीको अध्यक्षतामा गठित व्यवस्थापन समितिको सदस्यहरुमा इन्द्रप्रसाद खतिवडा, गोविन्द प्रसाद दुलाल, विन्दा विश्वकर्मा, सरस्वती गौतम र सूर्यकला तिमल्सिना रहेका छन् ।

त्यसैगरी विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा गिताप्रसाद दुलाल चयन भएका छन् । संघको २ जना सदस्यहरु भने पछिल्लो बैठकबाट मनोनित गरिनेछ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक तथा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले विद्यालयको गुणस्तर बृद्धिका लागि वडा कार्यालयले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वडाभित्र रहेको सबैभन्दा ठूलो विद्यालय भएकोले गुणस्तरिय शिक्षामा प्रतिबद्ध भएर काम गर्न समेत वडा अध्यक्ष कोइरालाले अनुरोध समेत गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा सदस्य गुरुप्रसाद ढकाल, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा, विद्यालयका सल्लाहकारहरु, विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाई तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष बस्ताकोटीले विद्यालयलाई नमूना विद्यालय बनाउन लागिपर्ने बताए । नगरकै उत्कृष्ठ विद्यालयको रुपमा अघि बढाउन आफू नेतृत्वको व्यवस्थापन समिति लागिपर्ने अध्यक्ष बस्ताकोटीले बताए ।