मनहरी गाउँपालिकाले युवाहरुको सीप विकास गर्ने उद्देश्यले कपाल काट्ने तालिमको आयोजना गरेको छ ।
इम्मानुएल अनसेक्स सैलुनको समन्वयमा सोमबार मनहरी-९ रजैयास्थित पालिकाको भवनमा तालिमको उद्घाटन भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले युवाहरुलाई रोजगारीमा प्रेरीत गरी आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए । सिपको सदुपयोग गरी व्यवसायिक हिसाबले आगामी दिनमा अघि बढ्न पनि सबै युवाहरुलाई उनले आग्रह गरे ।
त्यसैगरी मनहरीकी उपाध्यक्ष सीता पुलामी मगरले सहभागी सम्पूर्णलाई सकृयतापुर्वक तालिमको फाईदा उठाउन आग्रह गरिन् । आगामी दिनमा थप तालिमको माग भए विशेष प्राथमिकताका साथ योजना तथा वजेट विनियोजन गराइने उनको भनाइ छ ।
मनहरी गाउँपालिकाका सामाजिक विकास समिति संयोजक/३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रमलाई पालिकाकी उद्यम विकास सहजकर्ता सम्झना दङ्गालले सञ्चालन गरेकी थिइन् । ३ सय ८ घण्टे उक्त तालिममा ४० जना युवाहरु सहभागी हुने सहजकर्ता दङ्गालको भनाई छ ।
कार्यक्रममा मनहरी गाउँपालिकाका १ नम्बर वडा अध्यक्ष शिव खनाल, ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती, ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराईलगायतको उपस्थिती रहेको थियो ।