नवोदयमा पूर्वप्राथमिक तहका कलिला बालबालिकाको दीक्षान्त कार्यक्रम

नवोदय शिशु सदनले पूर्वप्राथमिक तहका कलिला बालबालिकाको दीक्षान्त कार्यक्रम गरेको छ ।

सामान्यताः त्रिभुवन, काठमाडौंलगायतका विश्वविद्यालयहरुले मात्रै दीक्षान्त समारोह गर्दै आएकोमा नवोदयले नयाँ अभ्यासको रुपमा पूर्वप्राथमिक तहका विद्यार्थीहरुको पनि दीक्षान्त कार्यक्रम गरेको हो ।

बालबालिकामा शिक्षाप्रतिको लगाव र प्रेम दर्शाउँदै अभिभावकसमेतको ध्यानाकर्षण गराउन नवोदयले अनेकौं रचनात्मक क्रियाकपालहरु गर्दै आइरहेको छ ।

यस्ता कार्यक्रमहरुले बालबालिकाको मस्तिष्कमा प्राप्त उपलब्धीमा प्रफुल्ल भएर शिक्षाप्रतिको लगाव बढाउने शिक्षा क्षेत्रलाई नजिकबाट नियाल्नेहरु बताउँछन् ।

‘अहिले मोबाइललगायतका विद्युतीय डिभाइसहरुले बालबालिकालाई नराम्रो प्रभाव पार्न खोजिरहेको छ । त्यसबाट छुटकारा दिलाउन विद्यालय र अभिभावक जिम्मेवार हुनुपर्छ । यसका लागि केही रचनात्मक कार्यक्रम गर्ने र शिक्षाप्रति मोह जगाइराख्नु हो । नवोदयले गरेको दीक्षान्त कार्यक्रम राम्रो छ,’ पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्य भन्छन् ।

मंगलबार हेटौंडा उपमहानगरपालिका–४, स्थित नवोदय शिशु सदनले युकेजी तहको अध्ययन पूरा गरेका ९० जना विद्यार्थीलाई दीक्षित गरिएको विद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ । पूर्वप्राथमिक तह निवर्तमान संयोजक अनिता गौतमले स्वागत मन्तव्य राखेका छन् ।

अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीले नृत्य, गायन, उद्घोषण, नाटक कला प्रस्तुत गरेका थिए । विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अभिभावकले समेत नृत्यु प्रस्तुत गरेका थिए ।

अभिभावकको तर्फबाट फुन्चु रुम्बाले मन्तव्य राखे । विद्यालयको पूर्वप्राथमिक तह संयोजक एलिशा जोशीको अध्यक्षता तथा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, प्रिन्सीपल मनोज थिङ, मावि संयोजक सीएम रिमाल, मावि तहका शैक्षिक प्रमुख मञ्चन तिवारी, प्राथमिक तह शैक्षिक प्रमुख सचिता पाण्डेको पनि आतिथ्य रहेको थियो ।