बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले काठमाडौं र ललितपुर जिल्लामा सञ्चालित योजनाहरुको अवलोकन तथा निरिक्षण गरेका छन् ।
मन्त्री श्रेष्ठले काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका-१४, नैकापमा निर्माणाधीन बल्खु नदिले कटान गरेको जमिन संरक्षण र नैकाप फुटबल चौर संरक्षण गर्न सञ्चालित योजनाको निरिक्षण गरेका हुन् ।
जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय काठमाडौंबाट सञ्चालित योजनाको करिब ९० प्रतिशत काम सम्पन्न भएको डिभिजन प्रमुख राजकुमार तण्डुकारले जानकारी गराए ।
बल्खु खोलाको कटानका कारण खेतीयोग्य जमिन बर्सेनि क्षयिकरण हुने समस्याबाट पीडित भएको बताउदै १४ नम्बरका वडा अध्यक्ष राजभाई महर्जनले आगामी बर्ष यसै योजनालाई निरन्तरताको लागि आग्रह गरे । मन्त्री श्रेष्ठले हाल उक्त योजनाहरु संघीय सरकारको बजेटबाट काम भएको बताउँदै आगामी वर्षको बजेटमा निरन्तरता दिन पहल गर्ने बताए ।
त्यसैगरी मन्त्री श्रेष्ठले ललितपुर जिल्लाको गोदावरी नगरपालिका-१३ मा रहेको झरुवारासी आरुबोट खानेपानी योजना, वडा नम्बर १० को बज्रबाराही लादेन खानेपानी आयोजना र ललितपुर महानगरपालिका-२२, बुङ्गमती खानेपानी योजनाको समेत निरीक्षण गरे ।
बागमती प्रदेश खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालयको १५ लाख बजेटमा निर्माण थालिएको झरुवारासी आरुबोट डिपबोरिङ्ग खानेपानी योजनाको निर्माण सम्पन्न हुँदा लागत बढेर ४४ लाख पुगेको खानेपानी तथा सरसफाइ डिभिजन-५ का प्रमुख लोक बहादुर चौलागाईंले जानकारी दिए । चौलागाईंका अनुसार २ सय ७० मिटर गहिरो बोरिङ्ग पछि अहिले प्रतिसेकेन्ड १२ लिटर पानी उत्पादन हुनेछ । डिपबोरिङ्गबाट उत्पादन भएको पानीलाई आगामी वर्ष ५ सय घनमिटरको ट्याङ्की निर्माण गरि गोदावरी-१३ मा वितरण गरिने योजना बनाएको चौलागाईंले बताए ।
साथै, वडा नम्बर १० को खानेपानी योजना बिधुतको कारण समस्या झेल्नुपरेको स्थानियले बताएका छन् । खानेपानीको लागि उपभोक्ता समितिमार्फत पोल गाड्ने र तार बिछ्याउने काम सम्पन्न भएपनी बिधुत प्राधिकरणले लाईन नजोडिदिदा समस्या भएको उनीहरुले बताए ।
निरीक्षणकै क्रममा ललितपुर महानगरपालिका-२२ बुङ्ग्मती खानेपानी आयोजनाको लागि महानगरबाट २ वटा डिपिआर भएको बताउदै वडाध्यक्ष सागर तुलाधरले आगामी बर्ष बजेट विनियोजनको लागि मन्त्री श्रेष्ठ समक्ष आग्रह गरे।
योजनाहरुको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले जनताले शुद्ध र सहज रुपमा खानेपानी प्राप्त गर्ने कुरामा गम्भीर रहेको बताए । योजना निर्माण सम्पन्न भएरपनी कुनै कारणबाट संचालना आउन सकेको छैन भने कहाँ समस्या छ तुरुन्तै मन्त्रालमा रिपोर्टिङ गर्न सम्बन्धित डिभिजन प्रमुखहरुलाई निर्देशन समेत दिए ।
मन्त्रालयबाट संचालित कुनैपनि योजनामा ढिलासुस्ती हुन नदिन र समयमै योजनाहरु सप्पन्न गराउन डिभिजन कार्यालयले निगरानी बढाउन सम्बन्धित क्षेत्रको आवश्यकताका आधारमा आगामी बर्षकोलागि योजनाहरु संकलन गरि मन्त्रालयमा सिफारिस गर्न समेत आग्रह गरेका छन् ।
योजना निरिक्षणमा प्रदेश सभा सदस्य प्रेम भक्त महर्जन, खानेपानी तथा सरसफाई डिभिजन नम्बर ५ का डिभिजन प्रमुख लोक बहादुर चौलागाई, जलस्रोत तथा सिंचाइ डिभिजन ललितपुरका डिभिजन प्रमुख मनोज थापा, उपभोक्ता समितिका पदाधिकारी, इन्जिनियर र कर्मचारीहरुको सहभागी रहेको थियो ।