बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेशबासी लाभान्वित हुने गरि काम गर्न स्वास्थ्य विज्ञहरुलाई आग्रह गरेका छन् ।
आईतबार मन्त्रालयको आयोजनामा आर्थिक बर्ष २०७९/०८० मा सम्पादित प्रजनन् स्वास्थ्य रुग्णता कार्यक्रमको प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा स्वास्थ्य मन्त्री श्रेष्ठले स्वास्थ्य विज्ञहरुसँग आग्रह गरेका हुन् ।
उनले पछिल्लो अवस्थाको पहिचान गरेर स्वास्थ्य अवस्था कस्तो थियो र कस्तो बनाउनु पर्छ भन्ने आधारमा कार्ययोजना बनाएर अगाडी बढ्न स्वास्थ्य चिकित्सकहरुलाई सुझाव समेत दिए । सबै विज्ञहरु उत्प्रेरितका साथ विरामीको काममा खटिने छन् भन्ने आशा राखेको मन्त्री श्रेष्ठले बताए ।
पछिल्लो समयमा आत्महत्याले घरपरिवारदेखि समाजसम्म असर परेको हुनाले यस समस्यालाई न्युन गर्नका लागी उपयुक्त जनशक्ति उत्पादन गर्न आवश्यक भएको मन्त्री श्रेष्ठको भनाई छ ।
हरेक जिल्लामा भएका अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि आएका विरामीहरुलाई उचित परामर्श प्रदान गर्नुको साथै मानसिक स्वास्थ्य सन्तुलन राख्न सहयोग पुर्याउन चिकित्सकहरुलाई अनुरोध गरे ।
उक्त कार्यको सुरुवात सर्वप्रथम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट थालनी गरिने र आवश्यकता अनुसार अन्य अस्पतालमा पनि क्रमश: विस्तार गर्दै लैजाने स्वास्थ्य मन्त्रालयले लक्ष्य लिएको श्रेष्ठले जानकारी दिए ।
‘जुन उदेश्य प्राप्तिका लागि मन्त्रालयले योजना बनाएको छ उक्त योजना सफल बनाउन स्वास्थ्य विज्ञहरुलाई सक्रियताका साथ सहभागिता जनाउन आग्रह गर्दछु ।’, मन्त्री श्रेष्ठले भने ।