बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले मन्त्रालय मातहतका सरकारी कार्यालयमा स्वदेशी काठ प्रयोग गर्ने योजना ल्याउने बताएका छन् ।
मंगलबार हेटौंडामा भएको वन तथा वातावरण मन्त्रालयको तेश्रो त्रैमासिक प्रगति समीक्षा एवम् योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकारी कार्यालयमा प्रयोग गरेर बाँकी रहेको काठ उचित मुल्यमा जनतालाई सरकारी दररेटमा उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।
उनले बागमती प्रदेशमा वातावरणमैत्री झोलाको प्रयोग र प्लास्टिक मुक्त बागमती प्रदेश घोषणा गरिने समेत बताए । नराम्रो काम गर्नेलाई दण्ड र राम्रो काम गर्ने कर्मचारीलाइ पुरस्कार पनि दिनुपर्नेमा जोड दिए ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको समिक्षा कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, नीति तथा योजना आयोग उपाध्यक्ष प्रा.डा. नरविक्रम थापा लगायतकाले शुभकामना दिएका थिए ।
बुधवारसम्म चल्ने समिक्षाको पहिलो सत्रमा वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधान वन तथा वातावरण मन्त्रालयको प्रगीत डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यले एक सफल अभ्यास, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीले दिगो वन व्यवस्थापन, डिभिजन वन कार्यालय दोलखाका डिभिजन वन अधिकृत कृष्णराज न्यौपानेले बागमती प्रदेशको वन क्षेत्रबाट अर्थतन्त्रमा योग्दान बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।