अशक्त व्यक्तिहरुको स्वास्थ्य सुविधाका लागि आवश्यक पहल गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता


बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेशभरीका अशक्त व्यक्तिहरुको स्वास्थ्य सुविधाका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधवार राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा सामाजिक विकास मन्त्रालयको सभाहलमा भएको छलफल तथा बधाई कार्यक्रममा बोल्दै  मन्त्री श्रेष्ठले अशक्त व्यक्तिहरुका लागि आफु सधै तत्पर रहको बताएका छन् ।

विशेषगरीआँखा देख्न नसक्ने, हिड्न नसक्ने जस्ता अशक्त व्यक्तिहरुलाई उपचारका लागि चाहिने सहयोग र आवश्यक सामाग्रीहरु उपलब्ध गराउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने मन्त्री श्रेष्ठले बताए । त्यसका लागि उनले सर्बप्रथम अशक्त व्यक्तिहरुको तथ्याङ्क समेटिएको सबै विवरण मन्त्रालयमा उपलब्ध गराउन महासंघसँग माग गरेका छन् ।

‘संघीय सरकारद्वारा देशैभरी अशक्त व्यक्तिहरुको लागि क, ख र ग वर्गको कार्ड दिइने निति नियम छ । प्रदेश सरकारले छुट्टै नीति अवलम्वन गर्न मिल्दैन’, मन्त्री श्रेष्ठले भने, ‘तर, स्वास्थ्य मन्त्रालयको पनि आफ्नै क्षेत्राधिकार भएकोले यदि महासंघले बागमती प्रदेशभित्र रहेका अशक्त व्यक्तिहरुको विवरण छिटो मन्त्रालयमा उपलब्ध गराए हामीलाई पनि त्यति नै छिटो उनीहरुको लागि बजेट बाँडफाँड गर्न सहज हुन्छ’

अशक्त व्यक्तिहरुको लागि गतवर्षबाट बजेट छुट्याईएको र हालसम्म अन्दाजी २ करोड खर्च भईसकेको मन्त्री श्रेष्ठले बताए ।

स्वास्थ्य क्षेत्रबाट पाएको सुविधा आवश्यक पर्ने व्यक्तिले पाउनुपर्ने र यस्ता कार्यमा जिम्मेवार संघसंस्था पनि जवाफदेहि हुनुपर्ने कुरामा मन्त्री श्रेष्ठले जोड दिएका छन् ।

पहिलो पटक मन्त्री बन्दा नै स्वंयमसेविकाहरुलाइ निगरानी गर्न निर्देशन दिएको मन्त्री श्रेष्ठले बताए । पछिल्लो समयमा बागमती प्रदेशमा ७ हजार घरपरिवारले स्वास्थ्य बिमाको सुविधा लिईरहेको उनको भनाइ छ ।

कार्यक्रममा पिएसओ नेपालका डम्वर बोहरा, नेत्रहिन महासंघ मकवानपुरका अध्यक्ष केदार बहादुर बजगाईं, राष्ट्रिय अपाङ्ग महिला सेवाका प्रमुख सुप्रभा अपलि लगायतको सहभागिता रहेको थियो ।