सूचनाको हक कार्यान्वयनमा योगदान पुर्‍याएको भन्दै आयोगद्वारा बन्जारा पुरस्कृत

मकवानपुरे सञ्चारकर्मी ईन्द्र प्रसाद बन्जारा ‘रमेश’ राष्ट्रिय सूचना आयोगको ‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार-२०८१’ बाट पुरस्कृत भएका छन् ।

पत्रकार बन्जारालाई सूचनाको हक कार्यान्वयनमा योगदान पुर्‍याएको भन्दै आयोगले स्थापना दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नगद ३५ हजारसहित पुरस्कृत गरेका हुन् ।

पत्रकार बन्जारा मकवानपुरबाट प्रकाशित बागमती एक्सप्रेस रंगिन साप्ताहिकका सम्पादक हुन् । साथै, उनी जनआस्था साप्ताहिक, नेपाल पत्रकार महासंघ मकवानपुर र नेपाल प्रेस युनियन मकवानपुरमा समेत आबद्ध छन् ।

‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार-२०८१’ बाट मकवानपुरका बन्जारासँगै कास्कीका यदुनाथ बन्जारा, सिरहाका परशुराम साह र सिन्धुपाल्चोकका आदित्य दाहाल समेत पुरस्कृत भएका छन् ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको विशिष्ट आतिथ्यता, नेपाल सरकारका मुख्य सचिव, राष्ट्रपति कार्यालयका सल्लाहकारहरु र नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रम शनिबार काठमाडौं स्थित राष्ट्रपति भवन, शितल निवासमा सम्पन्न भएको हो ।