बागमती प्रदेश सरकारद्वारा स्थापित हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालू शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा (एमबीबीएस) को पठनपाठन सुरु भएको छ ।
गत फागुन २५ गते औपचारिक उद्घाटन गरिएको यस कार्यक्रममा हालसम्म ४७ जना विद्यार्थी भर्ना भएका छन् ।
प्रतिष्ठानका अनुसार कूल ५० सिटको कोटा रहेकोमा हालसम्म ४३ नेपाली र ४ भारतीय विद्यार्थी भर्ना भइसकेका छन् । भर्ना भएका नेपाली विद्यार्थीहरू अछामदेखि ताप्लेजुङसम्मका २८ विभिन्न जिल्लाका रहेका छन् । जसमा सबैभन्दा बढी काठमाडौंका ५ र ललितपुरका ४ जना छन् ।
भर्ना प्रक्रिया जारी रहेकाले विद्यार्थीको संख्या थपिन सक्ने सम्भावना रहेको प्रतिष्ठानले जनाएको छ । विद्यार्थीहरूले सुरुवाती दुई वर्ष आधारभूत विज्ञान अथार्त् बेसिक साइन्स र त्यसपछिको अवधि क्लिनिकल साइन्स अध्ययन गर्नेछन् ।
अध्यापनका लागि पर्याप्त जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रतिष्ठानले एमबीबीएसका लागि मात्र ७४ जना प्राध्यापक उपलब्ध तथा समग्र शैक्षिक कार्यक्रमका लागि ७ प्राध्यापक र वरिष्ठ कन्सल्टेन्ट विशेषज्ञसहित १ सय १ जनाको टोली कार्यरत रहेको बतायो ।
प्रतिष्ठानले एमबीबीएस बाहेक जनस्वास्थ्य (बीपीएच), ल्याब मेडिसिन (बीएमएलटी), नर्सिङ र फार्मेसी जस्ता विषयहरू पनि सञ्चालन गरिरहेको छ । यस्तै, यस वर्षदेखि स्नातकोत्तर (एमडी) तहमा ९ विषय थप गर्दै सिट संख्या ८ बाट बढाएर २७ पुर्याइएको छ ।
विसं २०७६ मा स्थापना भएको यस प्रतिष्ठानले दक्ष चिकित्सक उत्पादन, गुणस्तरीय स्वास्थ्य सेवा र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण योगदान दिने लक्ष्य राखेको छ । आइतबारदेखि एमबीबीएस तहको नियमित कक्षा समेत सुरु भइसकेको छ ।






