हेटौँडा–४ मा ‘कामले बोल्ने’ अभियान: वडा अध्यक्ष सिग्देल

हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले विकास निर्माणमा आफूहरूको ध्यान भाषणभन्दा काम र परिणाममा केन्द्रित रहेको बताएका छन् ।

सिग्देलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘हामी संकल्पित छौँ, काममा प्रतिबद्ध छौँ। हामीले बोलिरहेका मात्र छैनौँ, तस्वीर आफैँ बोलिरहेको छ’ बताएका हुन् ।

उनले लोकतान्त्रिक हुप्रा चौरमा निर्माण गरिएको ज्येष्ठ नागरिक कक्षको उदाहरण दिँदै निर्माणका क्रममा विरोध भए पनि अहिले सोही संरचना ज्येष्ठ नागरिक तथा विभिन्न कार्यक्रमका लागि उपयोग भइरहेको बताए । त्यसैगरी, भैरवरोड क्षेत्रमा वर्षाका बेला हुने डुबानको समस्या समाधानका लागि कारण पहिचान गरी ढल मर्मतको काम अघि बढाइएको उनले जानकारी दिए ।

सिग्देलका अनुसार भैरवरोड–चिसापानी क्षेत्रमा ढलको चेम्बर भत्किनु तथा आसपासका संरचना र खाल्डाखुल्डीका कारण ढल अवरुद्ध भएको पाइएको थियो। सरकारी प्रक्रिया पूरा गरेर मर्मत कार्य सुरु गरिएको उनले बताए ।

‘निरन्तर वर्षा, बजार क्षेत्रको ढल, ढलको गहिराइ र वरिपरिको संरचनाका कारण काम केही साँघुरो भए पनि अहिले ढल निर्माणको काम द्रुत गतिमा भइरहेको छ,’ उनले भने ।

हुप्राको पानी ट्याङ्कीबाट पशुपति जाने सडकमा पानी जम्ने समस्यालाई समेत आफूहरूले सम्बोधन गर्ने उनले बताए । उक्त सडकको स्तरीकरणको काम अघि बढाएर डुबानको समस्या न्यूनीकरण गर्ने उनको भनाइ छ ।

वडा अध्यक्ष सिग्देलले विकासका काममा हुने आलोचनालाई सकारात्मक रूपमा लिएर आवश्यक सुधार गर्दै अघि बढ्ने संकेत गर्दै विरोधको जवाफ कामबाट दिने बताएका छन् । ‘कामले लखेट्ने होइन, कामको नतिजाले जवाफ दिने हो,’ भन्ने भावसहित उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सिग्देलले विगतका कठिन परिस्थितिलाई स्मरण गर्दै आफूहरू विपरीत परिस्थितिमा समेत काममा जुटेको बताए । ‘हामी हाम्रा घर, पालिका, वडा र स्वास्थ्य केन्द्र जल्दा पनि खरानीमाथि उठेर काममा जुटेका हौँ,’ उनले भने ।

उनले विकास साझा विषय भएकाले आलोचना र राजनीतिक मतभेदभन्दा माथि उठेर परिणाममुखी काममा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.