पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा प्रेस युनियनको तालाबन्दी

नेपाल प्रेस युनियनद्वारा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा तालाबन्दी गरिएको छ ।

सदस्यता शुद्धिकरणको विषयमा देखिएको अन्यौलताको अन्त्य र क्रियाशील सञ्चारकर्मीलाई सदस्यताबाट बञ्चित गर्न लागिएकोभन्दै महासंघमा युनियनले तालाबन्दी गरेको हो ।

प्रेस युनियन बागमती प्रदेश उपाध्यक्ष सुजन बिडारीको नेतृत्वमा प्रदेश सदस्य गंगा पौडेल तथा मकवानपुर जिल्ला अध्यक्ष सुवास विडारीसहितको युनियनकर्मीको टोलीले मंगलबार हेटौंडा–११ स्थित महासंघमा तालाबन्दी गरेका हुन् ।

‘महासंघको निर्वाचन जेठ २६ गतेका लागि तोकिएको हामी सवैलाई थाहा नै छ । तर, अझैसम्म सदस्यता सार्वजनिक गरिएको छैन ।’, युनियन मकवानपुर अध्यक्ष विडारीले भने,‘ सदस्यता शुद्धिकरणको नाममा युनियनकर्मीलाई जिल्ला, प्रदेश र केन्द्रबाट उपेक्षा गरिएका कारण हामी तालाबन्दी गर्न बाध्य भएका हौं ।’ उनले सदस्यता शुद्धिकरणको नाममा कुनै पनि क्रियाशील सञ्चारकर्मीलाई महासंघको सदस्यताबाट बञ्चित गर्न नहुने स्पष्ट पारे ।

महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरणको विषयका कारण अहिले देशभरका सञ्चारकर्मी आन्दोलित भएका छन् । महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन जेठ २६ गतेका लागि तोकिएपनि अझैसम्म निर्वाचन कार्यतालिका सार्वजनिक भएको छैन । जसका कारण निर्वाचन अन्यौलमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *