मकवानपुरकाे पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकामा ३ वटा पक्की पुल संचालनमा आएकाे छ ।
उक्त पुलहरुको उद्घाटन मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाँले उद्घाटन गरेसँगै संचालनमा आएकाे हाे ।
शनिबार मनहरीकाे ३ र ४ नम्बर वडाकाे जोड्ने लामिटार र ट्वाङ्ग्राको डबल स्पान पुल, ३ र ४ नम्बर वडाकै गोलघर र मिलडाँडा जोड्ने पुल र १ र २ नम्बर वडाको पार्ता र च्यापल जोड्ने ट्रिपल स्पानको पुलकाे नेपाली काग्रेस बागमती प्रदेश सभापती समेत रहेका बानियाँले उद्घाटन गरेका हुन् ।
जोड्न लामिटार र ट्वाङ्ग्रा जोड्ने ६४.१५ मिटर लम्बाइको पुल ६ करोड ४९ लाख ६० हजार रुपैया, गोलघर र मिलडाँडा जोड्ने ७४.५५ मिटर लम्बाइको पुल ६ करोड ५९ लाख ५० हजार ६३ रुपैयाँ तथा १ र २ नम्बर वडाको पार्ता र च्यापल जोड्ने ९७ मिटर लामो पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ लागतमा निर्माण भएकाे गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
हिराचन बानिँया जेवि निर्माण कम्पनीले गाउँपालिकामा निर्माण गरिरहेकाे पाँच वटा पक्की पुल मध्ये तीन वटा पुलको निर्माण सम्पन्न भएकाेले उद्घाटन गरिएको हो । सबै पुलको चौडाई ७ मिटर रहेकाे बताइएकाे छ । गाउँपालिकाले गत आर्थिक वर्ष ०७७/७८ मा आन्तरिक श्रोतकाे ३३ करोड ४० लाख ६५ हजार लागतमा ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । गाउँपालिकाकाे वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्ग्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का मार्फत निर्माण थालिएकाे थियाे ।
यसैगरी हाँडिखोला र ठाडो खोलामा निर्माणाधिन दुईवटा पुल २०८१ मंसिर महिनासम्म सम्पन्न भइसक्ने अध्यक्षले कालाखेतीले बताए । उनका अनुसार हालसम्म ठाडोखोला पुलकाे ८५ प्रतिशत र हाँडिखोला पुलकाे ६३ प्रतिशत निर्माणकाे काम भएकाे छ ।