तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले गत शैक्षिक वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ ।
हेटौँडा – १० मा रहेको उक्त विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा ४३ जना उत्तीर्ण विद्यार्थी, तिनका अभिभावक र उत्कृष्ट प्रदर्शन गर्ने ८ जना शिक्षकलाई सम्मान गरिएको हो।
२०८० को एसईई परीक्षामा विद्यालयबाट कुल ४९ विद्यार्थी सहभागी भएकामध्ये ४३ जना अर्थात् ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जसमा ९ जना विद्यार्थीले ए प्लस ग्रेड, १३ जनाले ए ग्रेड, १२ जनाले बी प्लस ग्रेड र ९ जनाले बी ग्रेड प्राप्त गरेका छन् ।
हेटौँडा – १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो।
कार्याक्रममा विषयगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो । जसमा कम्प्युटर विषयका शिक्षक सुरेन्द्र गौतमको मार्गदर्शनमा ३१ जना विद्यार्थीले ए प्लस र ९ जनाले ए ग्रेड प्राप्त गरे ।
गणित विषयका शिक्षक देवेन्द्र चापागाईंको प्रयासमा अनिवार्य गणितमा ८ जना विद्यार्थीले ए प्लस र ११ जनाले ए ग्रेड प्राप्त गरे भने ऐच्छिक गणितमा १३ जनाले ए प्लस र २ जनाले ए ग्रेड हासिल गरे। अंग्रेजी विषयका शिक्षक कमल नेपालको शिक्षण कौशलको फलस्वरूप ३ जना विद्यार्थीले ए प्लस र २२ जनाले ए ग्रेड प्राप्त गरे। त्यस्तै शिक्षक प्रतिमा बुढाथोकी, आयुष देवकोटा, पवन त्रिपाठी र सन्दीप न्यौपानेलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रघु खरेलले आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेको बताए। प्रधानाध्यापक खरेलले विद्यार्थीहरूलाई आकर्षित गर्न विशेष छुट योजनाको घोषणा गरे। उनका अनुसार, तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ५० प्रतिशत भर्ना शुल्क छुट दिइनेछ। साथै, असार महिनाभित्र भर्ना हुने अन्य विद्यार्थीहरूलाई ५ हजार रुपैयाँसम्मको छुट प्रदान गरिने उनले जानकारी दिए।