बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमन उपकरण हस्तान्तरण गरेको छ ।
बिहीवार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनलाई करिव १५ लाख बराबरको ट्राफिक नियमन उपकरण हस्तान्तरण गरिएको हाे ।
जसमा डिजिटल लिडार स्पीड गन एक थान र डिजिटल ब्रेथलाइजर ३ थान हस्तान्तरण गरिएको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।
समाग्री हस्तान्तरण गर्दै यातायात मन्त्री प्रेमभक्त महर्जनले यातायात मन्त्रालयले राजस्व सङ्कलन गर्ने काम मात्र नभएर यस्ता यातायातसँग सरोकार राख्नेहरूका लागि सहयोग गर्न तत्पर रहेको बताए । मन्त्री महर्जनले सर्वसाधारणका लागि सडक सुरक्षा सम्बन्धी शिक्षा दिन आवश्यक रहको हुँदा त्यस कुरामा ध्यान दिन पनि आग्रह गरे । साथै हाल भोग्नु परेको समस्या समाधानका लागि बागमती प्रदेश सरकारबाट गर्न सकिने समस्या समाधानमा लाग्ने र आगामी दिनमा पनि यस्ता सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेका गरेका छन् ।
कार्यक्रममा मन्त्रालयका सचिव बलराम निरौला, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका एसएसपी खड्ग बहादुर खत्री, यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख पदमप्रसाद बजगाईं, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख भक्त बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।