नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुदको दसौँ संस्करणको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष दीपक श्रेष्ठले आज युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
संघले ध्यानाकर्षण पत्रमार्फत् राष्ट्रिय खेलकुदको दसौँ संस्करणको विषयमा खेलाडी र खेलकर्मीहरुलाई प्रष्ट जानकारी दिन सरकारलाई आग्रह गरेको छ ।
स्थानीय आयोजकको रुपमा रहेको कर्णाली प्रदेश खेलकुद परिषद्ले काउन्ट डाउन सुरु गरिसकेको भएता पनि संघीय सरकार तथा राष्ट्रिय खेलकुद परिषद्ले पूर्व निर्धारित मिति २०८१ मंसिर २ देखि ९ सम्म दसौँ संस्करण आयोजना हुने नहुने भन्ने विषयमा प्रष्ट नपार्दा खेलाडीहरुमा अन्यौलता सिर्जना भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
छिटो भन्दा छिटो दसौं राष्ट्रिय खेलकुदका विषयमा प्रष्ट जानकारी देशभरका खेलाडी र खेलकर्मीलाई दिन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष समेत रहेका मन्त्री चौधरीलाई संघले आग्रह गरेको हो ।
‘हरेक दुई वर्षमा आयोजना हुने लक्ष्यका साथ सुरु भएको राष्ट्रिय खेलकुद विगतमा वर्षौसम्म आयोजना हुन नसकेको तितो यथार्थ पनि हामी सामू छ । जसले गर्दा त्यति बेलाका कतिपय खेल प्रतिभाले आफ्नो खेल कौशललाई प्रदर्शन गर्न पाएनन् । त्यसअर्थ भविष्यमा यस्तो परिस्थिति फेरि कहिल्यै नआओस् भन्दै सरकारको ध्यानाकर्षण पनि गराउन चाहान्छौं ।’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
देशको सबैभन्दा ठूलो खेल मेलाका रुपमा रहेको राष्ट्रिय खेलकुदको दसौं संस्करणको आयोजना कर्णाली प्रदेशमा हुने गरी नवौँ राष्ट्रिय खेलकुदको समापनकै क्रममा घोषणा गरिएको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री चौधरीले पूर्व निर्धारित मितिमा नै राष्ट्रिय खेलकुदको दसौँ संस्करण आयोजना गर्न सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।
उनले प्रतियोगिताको लागि आवश्यक तयारी भइनसकेको र बाँकी रहेको समय पनि तयारीका लागि पर्याप्त नभएको भन्दै दसौँ संस्करण पूर्व निर्धारित समयभन्दा केही पर सर्ने जानकारी दिए ।
मन्त्री चौधरीले आवश्यक तयारी पूरा गरेर दसौँ संस्करणलाई चाँडै आयोजना गर्ने गरी खेलकुद मन्त्रालयले पहल सुरु गर्ने बताए ।